• गृहपृष्ठ
  • सिजनको अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स पराजित

सिजनको अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स पराजित

Aug 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, १८ साउन

यस सिजनको इटालियन सिरि ‘ए’ फुटबलको च्याम्पियन युभेन्ट्स सिजनको अन्तिम खेलमा अग्रता जोगाउन नसक्दा पराजित भएको छ । गएराति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा च्याम्पियन युभेन्ट्स रोमासंग ३–१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा युभेन्ट्सको लागि गोन्जालो हिगुइनले एक गोल गरे भने रोमाको लागि निकोला कालिनिकले एक र डिएगो पेरोटीले दुई गोल गरे ।

खेलमा पहिलो अग्रता युभेन्ट्सलेनै लिएको थियो । खेलको ५ औँ मिनेटमा युभेन्ट्सका गोन्जालो हिगुइनलेगोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रोमाको निकोला कालिनिकले २३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ४४औं मिनेटमा रोमाका डिएगो पेरोटीले गोल गर्दै २ -१ को अग्रता दिलाए । त्यसको ८ मिनेट पछि डिएगो पेरोटीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै ३ -१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र सिजनको अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स रोमासंग पराजित भएको हो ।

युभेन्ट्सले ३८ खेलबाट ८३ अंक जोढ्दै लिगको अन्त्य गरेको छ । युभेन्ट्सले लिगको उपाधि यस अघि नै जितिसकेको छ । युभेन्ट्सले दोस्रो स्थानको इंटर मिलानसँग १ अंकको अग्रता बनाएको छ । समान खेलबाट दोस्रो स्थानको इंटर मिलानको ८२ अंक छ। तेश्रो स्थानमा रहेको एट्लान्टाको समान खेलबाट ७८ अंक छ। रोमा ७० अंक सहित पाँचौ स्थानमा रह्यो ।