• गृहपृष्ठ
  • एक वर्षमा २ सय ६ अंकले बढ्यो नेप्से, लगानीकर्ताले कमाए १ खर्ब ३५ अर्ब

एक वर्षमा २ सय ६ अंकले बढ्यो नेप्से, लगानीकर्ताले कमाए १ खर्ब ३५ अर्ब

Jul 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन १२

सेयर बजार परिसुचक नेप्से एक वर्षमा झन्डै २ सय ६ अंकले बढेको छ । गत वर्षको असारमसान्तमा १२ सय ५९ अंकमा रहेको नेप्से परिसुचक आइतबार १४ सय ६५ अंकमा आइपुगेको छ ।

बजारमा नेप्से परिसुचक मात्रै बढेको छैन । सेयरबजारका लगानीकर्ताको सम्पत्ति पनि बढेको देखिएको छ । एक वर्षमा मात्रै सेयर लगानीकर्ताले झन्डै १ खर्ब ३५ अर्ब रुपैयाँ कमाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । गत वर्ष १७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको सेयर लगानीकर्ताको सम्पत्ति यो वर्ष बढेर १९ खर्ब २८ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको प्रवर्धक, तथा साधारण सेयर लगानीकर्ताको सम्पत्ति १ खर्बले बढेको छ । किनकी यो पुँजकिरण भनेको दोस्रो बजारमा सुचिकृत सम्पुर्ण सेयरको मूल्य हो । यो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले मात्रै कमाएको रकम भने होइन । किनकी बजारमा सुचिकृत सेयरमध्ये जम्मा ८ प्रतिशत मात्रै बजारमा कारोबार हुने गर्छ ।

एक आर्थिक वर्षमा १ लाख ८१ हजार ५ सय ५८ जना लगानीकर्ता थपिएका छन् । अहिले कुल सेयर लगानीकर्ताको संख्या भने १६ लाख ९० हजार पुगेका छन् । तर यि मध्ये गत वर्ष ७३ हजार ३ सय मात्रै दोस्रो बजारमा एक्टीभ रुपमा कारोबार गर्ने गर्छन् ।

सेयर बजारमा लगानीगर्नेहरु बढेसँगै बजार पछिल्लो समय उकालो लाग्न थालेको छ । बैंकको ब्याज सस्तो भएको छ । जसका कारण पनि अहिले लगानीकर्ताहरु सेयरबजारमा आकर्षित भएका छन् ।

सेयर बजार र बैंकको ब्याज बिचको उल्टो सम्वन्ध हुन्छ । किनभने मुद्दति निक्षेपमा पाइने ब्याज घटेसँगै यस्ता साना लगानीकर्ता नाफा कमाउन बजारमा छिर्ने गर्छन् ।

४ वर्ष अघि १८ सय ८१ अंकमा पुगेको नेप्से परिसुचक गत वर्षको फागुनमा ११ सय अंकमा झरेको थियो । १८ सय अंकमा पुगेका बेला लगानी गरेका लगानीकर्ता अझै नाफा नकमाएको भएपनि गत वर्ष लगानी गरेका लगानीकर्ताले भने बजारबाट राम्रै कमाएका छन् ।

घटेको बजारमा लामो समय लगानी गर्ने लगानीकर्ताहरुलाई फाइदा हुन्छ । तर छोटो समय मात्रै लगानी गर्न चाहने लगानीकर्ताहरुले भने बजार बढेसँगै लगानी गर्न सुरु गर्ने र केहि बढेपछि नाफा सुरक्षित गर्न बेच्नुपर्छ ।