• गृहपृष्ठ
  • सेयरबजारमा काठमाडौं उपत्यकाको बर्चस्व, दोस्रोमा दोलखा

सेयरबजारमा काठमाडौं उपत्यकाको बर्चस्व, दोस्रोमा दोलखा

Jul 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन ८

सेयर लगानीकर्ताहरुमा अहिले पनि काठमाडौं उपत्यकाको बर्चस्व रहेको देखिन्छ । उपत्यकामा ४ लाख ८१ हजार १ सय ४२ जना लगानीकर्ता रहेका छन् । जुन कुल लगानीकर्ताको २८ दशमलव चार छ प्रतिशत हुन आउँछ ।

उपत्यकापछि भने दोलखा जिल्लामा ६९ हजार ७ सय ७१ जना लगानीकर्ता छन् । सबैभन्दा थोरै सख्ंयामा भने मुगुमा ५ सय ५६, डोल्पामा ५ सय ७९ र मनाङमा ६ सय १४ जना लगानीकर्ता छन् । यसले अहिले पनि सेयर सहरबजारमै केन्द्रित भएको र दुर्गमका लगानीकर्तालाई आकर्षण गर्न नसकेको प्रष्ट देखाउँछ ।

जलविद्युत आयोजनाले स्थानियलाई सेयर जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले भने ग्रामीण क्षेत्रमा पनि सेयर लगानीकर्ताहरु बढेका हुन् ।

सिडिएस एण्ड क्लीयरिङ लिमिटेडका अनुसार ४ वर्ष अघि सेयरबजारमा ४ लाख ७४ हजार ४ सय ८ जना लगानीकर्ता थपिएका थिए । गत वर्ष भने यस्तो संख्या ६१ प्रतिशतले कमि आउँदै जम्मा १ लाख ८१ हजार ५ सय ५८ जना लगानीकर्ता थपिए ।

आर्थिक वर्ष २०७५/०७६ कै तुलनामा पनि गत वर्ष नयाँ लगानीकर्ता थपिने क्रम ३३ प्रतिशतले घटेको छ । अहिले सेयरबजारमा कुल १६ लाख ९० हजार लगानीकर्ता छन् । जसमध्ये ६० दशमलव नौ आठ प्रतिशत पुरुष र ३८ दशमलव ७९ प्रतिशत महिला छन् भने संस्थागत लगानीकर्ता जम्मा शुन्य दशमलव २३ प्रतिशत रहेका छन् ।

घट्दो सेयर बजार र नयाँ जलविद्युत आयोजनाले सेयर जारी गर्ने क्रम घटेपछि सेयरबजारमा नयाँ लगानीकर्ता थपिने पनि कम भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा २ लाख ७३ हजार नयाँ लगानीकर्ता थपिएकोमा गत वर्ष भने ३३ प्रतिशतले यस्तो संख्यामा कमि आएर जम्मा १ लाख ८१ हजार मात्रै नयाँ लगानीकर्ता थपिएका छन् ।

धितोपत्र बोर्डका अनुसार २०७५/०७६ मा १६ वटा जलविद्युत कम्पनीले ७ करोड ५६ हजार कित्ता सेयर जारी गरेका थिए । गत वर्ष भने ४ वटा कम्पनीले १ करोड २० लाख मात्रै प्राथमिक सेयर निष्काशन गरेका छन् ।

गत वर्ष जलविद्युत आयोजनाको कम सेयर आएका कारण पनि सेयर लगानीकर्ता उत्साहजनक रुपमा बढ्न नसकेको देखिन्छ ।

सेयरलगानीकर्ता १६ लाख ९० हजार भएपनि गत आर्थिक वर्षमा भने ७३ हजार ३ सय १६ जना सेयर लगानीकर्ताले कारोबार गरेको नेपाल स्टक एक्सचेन्ज बताउँछ ।