• गृहपृष्ठ
  • पहिरोमा परेर मृत्यु, बेपत्ता तथा सडक अवरोध

पहिरोमा परेर मृत्यु, बेपत्ता तथा सडक अवरोध

Jul 10th, 2020

काठमाडौं, २६ असार

लमजुङ, बेसिशहर नगरपालिका-७ सातबिसे बस्ने दिपक तमाङको एकतले टिनले छाएको घर अबिरल बर्षाको कारण बिहीबार राति पहिरो आई पुरिन जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरो आई घरको ३ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ३२ वर्षीय दिपक तामाङ लगायत ६ जना घाइतेको उद्दार गरी जिल्ला सामुदायिक अस्पताल बेसिशहर पठाएकोमा दिपक, उनको श्रीमती २६ वर्षीया बिमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ सहित ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य ३ जना सामान्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित मेलबोट बस्ने ७० वर्षीया हिमकली अधिकारीको घरमा बिहीबार राति पहिरो झरेर घर पुरिँदा हिमकलीको मृत्यु भएको छ । पहिरोमा परेका ३० वर्षीय बासुदेब अधिकारी लगायत ४ जनालाई सकुशल उद्धार गरिएको छ ।

कास्की, पोखरा महानगरपालिका-१८ सराङकोटस्थित गोठादी बस्ने ५० वर्षीय टंक बहादुर थापाको घर माथिबाट शुक्रवार बिहान पहिरो झरेर घर पुरिँदा सोही ठाउँ बस्ने ५० वर्षीय टंक बहादुर थापा लगायत ५ जनाको मृत्यु भएको छ । पहिरोमा परेका सोही ठाउँ बस्ने २२ वर्षीय पिंकी थापा सहित ८ जना घाइतेलाई उद्धार गरी उपचारको लागि मणिपाल अस्पतालतर्फ पठाइएको छ ।

बैतडी, शिबनाथ गाउँपालिका-६ बसेडीस्थित आमचौरा द्वारीका देवी ठकुरानी सडकखण्डमा स्काईभेटरले सडक खन्ने क्रममा बिहीबार साँझ माटोको ढिस्कोले पुरिएकी सोही गाउँपालिका-६ बस्ने शंकर धनाडीको छोरी १० वर्षीया उर्मिला धनाडीलाई उद्धार गरी उपचारको लागि धनगढीतर्फ पठाइएको छ । स्काईभेटरले सडक खनिरहेको अवस्थामा सडक माथिबाट माटोको ढिस्को खस्न गई उनी पुरिएको बताइएको छ । जेसिबि चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दी, अविरल वर्षाको कारण धवलागिरी गाउँपालिका-६ मराङ रिखास्थित घण्टीबाङ भन्ने भिरमा बिहीबार राति ढुङ्गा माटो सहितको पहिरो खस्न जाँदा सोही ठाउँ बस्ने भिम प्रसाद जुग्जाली सहित २ वटा घर पहिरोले पुरिएर नष्ट भएको छ । साथै दुबै घरमा गरी बस्दै आएका १० जना हाल बेपत्ता भएका छन् ।

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-२ सिमखेलास्थित भिमफेदी काठमाडौं सडकखण्डमा अविरल बर्षाको कारण पहिरो आई करिब २० मिटर दुबैतर्फी सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठान, सरूमारानी गाउँपालिका-४ ठुलोघुम्तीस्थित भालुबाङ प्यूठान सडक-खण्डमा अविरल वर्षाका कारण पहिरो आई शुक्रबार बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बड्डाडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुली, सुनकोसी गाउँपालिका-२ कमेरे फाँट नजिक मरिण लालबन्दी सडकखण्डमा वर्षासँगै झरेको पहिरोले बिपि राजमार्गको दुबैतर्फी सडक बिहीबार रातिदेखि अवरोध भएको छ । पहिरोले काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.१० च ७८४७ नम्बरको कार भाग पुरिएको तथा सवार यात्रुहरु सकुशल रहेका छन् । प्रहरी चौकी कुशेश्वरदुम्जाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।