• गृहपृष्ठ
  • लकडाउनमा पनि कमाउधन्दामै कर्मचारी, एक इन्जिनीयर विरुद्ध सवा २ करोड अकुत सम्पत्ति आर्जन गरेको मुद्दा

लकडाउनमा पनि कमाउधन्दामै कर्मचारी, एक इन्जिनीयर विरुद्ध सवा २ करोड अकुत सम्पत्ति आर्जन गरेको मुद्दा

Jul 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौ २५ असार

२ करोड २५ लाख ४ हजार १० रुपैयाँ र ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा बिहीबार एक इन्जिनीयर विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभाग अन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले इन्जिनियर शाक्यले आपसी मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा इन्जिनियर शाक्यको वैध आम्दानी १ करोड ५६ लाख ६ हजार ४ सय ८० रुपैयाँ ९ पैसा देखिएको तर लगानी र खर्च हेर्दा ३ करोड ८१ लाख १० हजार ४ सय ९० रूपैयाँ ८६ पैसा देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

२ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसाको स्रोत खुल्न नसकेको र स्रोत नखुलेको सम्पत्ति उनले गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको वताइएको छ ।

लकडाउनमा कर्मचारीको कमाउ धन्दा

लकडाउनको अवधिमा पनि कर्मचारीहरु कमाउने नै दाउमा लागेको देखिन्छ । यस अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिव २ हजार उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

अख्तियारले लकडाउन सुरु भएको दिन रौतहटको यमुनामाई गाउँपालिका ३ का वडासदस्य रामविश्वास मुखिया र निरगुन पासवान (दुसाद) लाई १३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई अख्तियारको हिरासत कक्षमा राखिएको छ । सो कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् ।

अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र, अनियमिततामा संलग्न १ सयभन्दा बढी फाइलको अध्ययन गरिरहेको छ ।

अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

केही दिन अघि डिल्लीवजार मालपोत कार्यालयका ६ जना कर्मचारी घुस लिंदालिंदै पक्राउ परे । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले मालपोत अधिकृत रघुवंश कंडेल, ना।सु। क्रमशः उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई ८ लाख ५० हजार रुपैयाँ घुस रकमसहित समातेको थियो ।

रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् ।

हिरासतमा रहेकालाई क्रमबद्ध अख्तियारको हिरासतमा रहेकामध्ये मालपोत कार्यालयका ६ जना र इन्जिनियर ५ जना छन् । बाँकी प्रहरी, स्थानीय प्रशासन, खानेपानी विभाग, सडक विभागका कर्मचारी, लेखापाल, लेखापढी व्यवसायी, कार्यालय सहयोगीलगायत छन् ।

सरकारले असार देखि लकडाउन केही खुकुलो पारेसंगै सरकारी कार्यालय खुलेका थिए । कार्यालय खोल्लन नपाउदै कर्मचारीका आँखा भने कसरी पैसा कुम्ल्याउने भन्नेमै केन्द्रित भएको विभिन्न घटनाले देखाउँछ ।

सरकारी कामै नभएको वेला पनि भ्रष्टाचारका उजुरी पर्नुले हाम्रो कर्मचारीतन्त्र भ्रष्टाचारमा कति लिप्त छ भन्ने पुष्टि हुन्छ । एक त कमै नगर्ने अर्को कामै नभएका बेला समेत विभिन्न का गरेको वहानामा भ्रष्टाचार गर्ने कर्मचारीलाई कडा कारबाही गर्नुपर्ने खाँचो छ ।