सरिता गिरीेको सांसद पद रिक्त

Jul 9th, 2020

काठमाडौँ, २५ असार /रासस

सङ्घीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ ।

समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट हटाइएको पत्र संसद् सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरिएको हो ।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद् सचिवालयले जनाएको छ । समाजवादी पार्टीका प्रमुख सचेतकले सांसद गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट हटाउने पार्टीले गरेको निर्णयसहित पदमुक्त गरिदिन बुधबार सचिवालयलाई पत्र पठाएको थियो ।

संसद्का महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमानुसार नै पाइएकाले उहाँको सांसद पद रिक्त भएको सूचना जारी गर्नुभएको बताउनुभयो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीको असार २३ गतेको पदाधिकारी बैठकले सांसद गिरिलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो । पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिससहित पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।