• गृहपृष्ठ
  • सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय ,५० प्रतिशत बढ्यो भाडा

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय ,५० प्रतिशत बढ्यो भाडा

Jul 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार २५

सरकारले सार्वजनिक सवारीसाधन  चल्न दिने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबारको नियमित पत्रकार सम्मेलनमा सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए। प्रवक्ता खतिवडाको अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चलाउन पाइनेछ।

खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्नसक्ने तर ट्याक्सीका हकमा भने तत्कालैबाट चल्नसक्ने जानकारी दिए ।

५० प्रतिशत बढ्यो भाडा

मन्त्री खतिवडका अनुसार  बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको बताए।

सार्वजनिक सवारीमा ५० प्रतिशत सिटमा मात्र यात्रु राख्न पाउने, सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने , चालक, सहचालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने र सवारीसाधन दैनिक निःसंक्रमण गर्नुपर्ने लगायत मापदण्ड सरकारले तोकेको छ।