• गृहपृष्ठ
  • सलह कीराले गरेको नोक्सान पूर्तिका लागि किसानलाई राहत उपलब्ध गराउन माग

सलह कीराले गरेको नोक्सान पूर्तिका लागि किसानलाई राहत उपलब्ध गराउन माग

Jul 2nd, 2020

काठमाडौ, असार १८

सलह कीराले नेपाली किसानको खेतीबाली नोक्सानी गरेको भन्दै फोर एच नेपालले किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन नेपाल सरकार तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेको छ । फोर एच नेपालदवारा जारी गरेको प्रेस नोटमा भनिएको छ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सलह कीरा नियन्त्रणका लागि प्रयाप्त समय हुँदाहुँदै पनि प्रभावकारी कदम नचाल्दा किसानले ठूलो नोक्सानी ब्यहोर्नु गरेको उल्लेख गरेको छ ।

सलह कीरा नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ साल जेठ १३ गते गठित सलह कीरा नियन्त्रणसम्बन्धी प्राविधिक कार्यदलले दिएको सुझाव नमानेर उल्टै नेपालमा मनसुन भएकाले नेपालमा कम प्रभाव पर्ने सरकारी आँकलनको कारण सलह कीराले ठूलो क्षति तथा नोक्सानी गरेकोे ठम्याइ फोर एच नेपालको रहेको छ । उक्त प्रेस नोटमा २०७७ असार १५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीराको पहिचान तथा व्यवस्थापन जानकारी अधुरो, अपूर्ण र अव्यवहारिक रहेको उल्लेख गरेको छ । साथै, तयारीका लागि प्रशस्त समय हुँदाहँुदै पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तरमन्त्रालय समन्वय तथा स्थानीय निकायसँगको सहकार्यमा चुकेको जनाएको छ ।

फोर एच नेपालका अध्यक्ष लोक राज अवस्थीद्वारा हस्ताक्षरित उक्त प्रेस नोटमा सलह कीराले गरेको क्षति तथा नोक्सानको एकिनका लागि विज्ञसहितको सर्वपक्षीय समिति गठन गर्न माग गरिएको छ । सँगै, किसानलाई तोकिएको अग्रीम मूल्य अनुसार तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न र बैकल्पिक खेतीका लागि किसानलाई आवश्यक प्रविधि, मल, बीउबीजन उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरिएको छ ।

किसानलाई सलह नियन्त्रणका लागि पम्परागत विधिहरु अपनाई स्थानीय श्रोतसाधनको बढी भन्दा बढी उपयोग गर्न तथा सामुहिक रुपमा सलह कीरा नियन्त्रणका लागि सहकार्यका लागि किसनाहरुलाई अनुरोध गरिएको छ ।