• गृहपृष्ठ
  • डिजीपे लकडाउन गट ट्यालेन्सको तेस्रो राउन्डको भोटिङ सुरु , प्रतियोगितामा एक सय ५० भन्दा बढीको सहभागिता

डिजीपे लकडाउन गट ट्यालेन्सको तेस्रो राउन्डको भोटिङ सुरु , प्रतियोगितामा एक सय ५० भन्दा बढीको सहभागिता

Jul 1st, 2020

काठमाडौ, असार १७

स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा नेपालमा पहिलो पटक आयोजना गरेको ‘डिजीपे­– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगितामा हालसम्म १५० भन्दा अधिकको सहभागिता भइसकेको छ भने पहिलो दुई राउन्डमा २४ जना अन्तिम प्रतियोगिताका लागि छानिइसकेका छन् ।

जेठबाट सुरु गरिएको प्रतियोगिता असारको दोस्रो सातासम्म चल्नेछ । हालसम्म दुई चरण चरणमा प्रत्येक चरणबाट १०–१० जना उत्कृष्ट प्रस्तोता छानिएको र वाइल्ड कार्डबाट प्रत्येक साता २–२ जना गरी २४ जना छनौट भइसकेको स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले जानकारी दिइन् ।

प्रतियोगिताको मुख्य प्रायोजक डिजिटल भुक्तानी सेवाप्रदायक डिजीपेले हरेक साता प्रतियोगितामा छानिएका ५० जनाको डिजीपे खातामा एक हजार रुपैयाँका दरले नगद हालिदिने गरेको प्रतियोगिताका मुख्य प्रायोजक एवं सहआयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले बताए । ’प्रतियोगितामा एक लाख जति सब्सक्राइबर भएका टिकटक स्टारदेखि विभिन्न खालका प्रतिभा भएका बालबालिका, युवा र केही वरिष्ठ व्यक्तित्वहरूले पनि प्रतियोगितमा सहभागिता जनाइरहनुभएको छ,’ नेपालले भनिन् ।

लकडाउनका कारण मानसिक तनावमा रहेका व्यक्तिहरूको तनावमुक्तिसँगै प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्नेगरी सुरु गरिएको प्रतियोगितामा हरेक साता ५० वटा भिडियो प्रतिस्पर्धाका लागि प्राप्त भइरहेको स्टेट एट मिडियाले जनाएको छ ।

हरेक राउन्डका विजेता र वाइल्ड कार्डबाट छानिने १० जना गरी ५० जनालाई प्रायोजकहरूका तर्फबाट ४० हजार रुपैयाँबराबरको गिफ्ट भौचर प्रदान गरिने स्टेट एट मिडियाले जानकारी दिएको छ । प्रतियोगिताका मुख्य विजेताले भने ५० हजार रुपैयाँ नगद पुरस्कार र ५० हजार रुपैयाँबराबरीको गिफ्ट भौचर पाउने स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले जानकारी दिइन् । कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनमा स्वस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा– नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला– कुकिङ, टिकटक, कविता आदिको भिडियो बनाएर पठाउनुपर्ने र ती भिडियो सामाजिक सञ्जालमा लाइक र सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिनेछ । प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

नेपालका अनुसार हालसम्म दोस्रो राउन्डका विजेता छनौट गरिसकिएको छ भने तेस्रो राउन्डको भोटिङ जारी छ । असार २१ गतेसम्म तेस्रो राउन्डको भोटिङ र अन्तिम राउन्डका लागि सहभागी भिडियोहरू लिइने उनले जानकारी दिइन् । ’यो यस्तो युनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक छैनन्, सामाजिक सञ्जालहरूमा अत्यधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ,’ प्रतियोगिताका मुख्य प्रायोजक एवं सहआयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले भने ।

नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपे मुख्य प्रायोजक रहेको प्रतियोगितामा नेटम्याक्स ग्लोबेन्सी, बेननेभिज, एलओडी, लस इक्सोबार्स, क्यूएफएक्स, टिटाइम कफी ब्रेक, इजीकेयर सहप्रायोजक छन् । अफिसियल प्रमोटरका रुपमा नेपाली म्युजियर रहेको अफिसियल डिजिटल मार्केटिङ पार्टनर डिजिटल बाजे र अफिसियल बैंक एनसीसी बैंक रहेको छ ।