• गृहपृष्ठ
  • बार्सिलोना एट्लेटिको सँग बराबरीमा रोकियो

बार्सिलोना एट्लेटिको सँग बराबरीमा रोकियो

Jul 1st, 2020

काठमाडौं, असार १७

स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसंग बराबरीमा रोकिएको छ। मंगलबार राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोसँग २ – २ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

एट्लेटिकोका डिएगो कोस्टाले खेलको ११ औँ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

खेलको ५० औं मिनेटमा कप्तान मेसीले पेनाल्टीमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । कप्तान लिओनल मेसीले बार्सिलोनाका लागि सो गोल गरेर आफ्नो करियरमा सात सयौँ गोल पूरा गरेका छन् ।

त्यसपछि खेलको ६२ औं मिनेटमा साउल निगाजले पेनाल्टीमा  व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा  रोकिएको हो ।

बराबरीसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा कायम रहेको छ । बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोडेको छ । एक खेल कम खेलको रियलको ७१ अंक छ र लिगको शीर्ष स्थानमा छ ।तेस्रो स्थानको एट्लेटिको ३३ खेलबाट ५९ अंक छ ।