• गृहपृष्ठ
  • मनाङमा आयआर्जनका लागि सामूहिक तरकारी खेती

मनाङमा आयआर्जनका लागि सामूहिक तरकारी खेती

Jun 26th, 2020

मनाङ, १२ असार

मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् ।

गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका महिलाले उत्पादन गरेका उत्पादन आफ्नै गाउँमै खपत हुँदै अएको छ । तरकारीको राजा आलु यस जिल्लाकै प्रमुख बालीको रुपमा आलु खेतीले आयआर्जनमा निर्भर बनाउने गरेको छ । उनीहरुले यहाँ आउने पाहुनाको मुख्य रोजाइमा पर्ने हुँदा गाउँको झण्डै १० रोपनी खाली जग्गामा सामूहिक खेती गरेका हुन् । सामूहिक तरकारी खेतीबाट आत्मनिर्भर मात्र नभई आयआर्जनसमेत गरेका समूहकी सदस्य बेलकाशी गुरुङले बतउनुभयो ।

शुरुमा जिल्ला कृषि कार्यलय चामेबाट रु १० हजार अनुदानबाट शुरु भएको यस समूहको सामूहिक तरकारी खेती हाल लाखौँ आम्दानी गर्न सफल उनीहरु खुशी हुँदै उत्पादनमा अझ बढी मेहनत गर्ने भएका छन् । यहाँ उत्पान भएका आलु, काउली जिल्लाका ठूलठूला होटलदेखि बाहिरी जिल्लाका फाइभ स्टार होटलबाट माग आउने गरेको उनीहरु बताउँछन् । यहाँ उत्पादित आलु काठमाडौँ, पोखरालगायत स्टार होटलमा समेत निर्यात हुन थालेका छन् । यसरी आएको रकम समूहमा जम्मा गरी गाउँको सरसफाइदेखि बाटाघाटा मर्मत गर्ने गरेको समूहकी अर्की सदस्य सूर्यकाशी गुरुङले बताउनुहुन्छ ।

उनीहरुले आम्दानी भएको रकम समूहमा बचत गरी शुरुआत गरेका गाउँमानै उदारणीय काम गरेका छन् । एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिएको उनीहरुसँग अनुभव रहेको छ । कोरोना भाइरसको सङ्क्रमण नभएको भए पर्यटकले भरिने र आलुको विभिन्न परिकारले लोभिने गरेको उनीहरुको भनाइ छ । १० हजार लगानीबाट शुरु गरेका महिला समूहले गाउँको विकासमा समेत टेवा पु¥याउँदै आएका समूहकी अध्यक्ष उर्मिला गुरुङले बताउनुभयो । महिला सक्रिय भए घरमात्र नभई गाउँको विकासमा समेत टेवा पुग्न सक्ने ओडार गाउँका महिला उदाहरण बनेका छन् । रासस