मलको अभाव हुँदैन: मन्त्री भुसाल

Jun 17th, 2020

काठमाडौँ, ३ असार

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि उत्पादनका लागि मलको अभाव नहुने बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायत विभिन्न शीर्षकमाथि राष्ट्रियसभामा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले गत वर्ष तीन लाख मेट्रिकटन मल ल्याएको र यस वर्ष एक लाख पाँच हजार मेट्रिक टन मल किन्ने तयारी गरेको जानकारी दिनुभयो ।

“कोरोना भाइरसका कारण १० हजार मेट्रिक टन मात्र मल ल्याएका छौँ, ११ लाख मेट्रिक टन बाटोमा छ”, मन्त्री भुसालले भन्नुभयो, “मलको अभाव भएको छैन, मलको हाहाकार भएको होइन, अभाव हुन दिन्नौँ ।” मन्त्री भुसालले कृषि क्षेत्रको कार्यक्रम ठीक ढङ्गले अगाडि बढेको जानकारी गराउँदै कृषिमा क्रान्ति नै गर्ने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै सबै प्रदेशले कृषिमा लगानी गर्न बजेट छुट्याएको खुशी व्यक्त गर्नुभयो ।

उहाँले सबै तरकारी विदेशबाट आयो नेपालको सबै तरकारी कुहियो भनिएको तथ्य सत्य नभएको र गोलभेंडा, हरियो खुर्सानीजस्ता वस्तु नेपाली उत्पादनले पुग्ने गरेको बताउनुभयो । आगामी दिनमा धेरै फलफूल र तरकारी स्वेदशमै उत्पादन पुग्ने बताउनुभयो । रासस