ट्यालेण्ट हण्ट नतिजा सार्वजनिक

Jun 10th, 2020

काठमाडौँ, २८ जेठ

भर्चुअल माध्यमबाट गरिएको ‘ट्यालेण्ट हण्ट २०२०’ को नतिजा सार्वजनिक गरिएको छ । कोरोना महामारी र लकडाउनका अवस्थामा युवामा रहेको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यका साथ टिम सोचले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

नृत्य, साहित्य, गायन, चित्रकला, डिजिटल निर्माण तथा विविध गरी छ विधामा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा चार सय जनाको सहभागिता थियो । गायनतर्फ अनमोल आचार्य, नृत्यतर्फ मनिता गहतराज, साहित्यतर्फ शिक्षा शिवाकोटी, चित्रकलातर्फ सुशान महर्जन, डिजिटल निर्माणतर्फ पूजा ताम्स तथा विविधतर्फ आजाद खड्का विजयी घोषित भएका थिए ।

गते चैत २० गते शुरु भएको सो कार्यक्रम वैशाख २५ गते टुंगिएको थियो । टिम सोचका नवीन गिरीले भन्नुभयोे, ‘सिङ्गो विश्व कोरोनाको महामारीबाट ग्रस्त भएको यस असामान्य परिस्थितिमा मानवजातिमा नयाँ चुनौती थपिएको छ । यस्तो विषम परिस्थितिलाई सामान्य अनुभूति गराउने सोचका साथ ट्यालेण्ट हण्ट शुुरु गरेका हौँ ।’

प्रतियोगिताको मूल्यांकनका लागि विभिन्न क्षेत्रका विज्ञ समावेश गरी निर्णायक मण्डल गठन गरिएको थियो । गायनतर्फ गायक सञ्जय श्रेष्ठ, नृत्यतर्फ कोरियोग्राफर गम्भीर विष्ट, साहित्यतर्फ गजलगो जय गौडेल, चित्रकलातर्फ कलाकार तथा कलालेखक देवेन्द्र थुम्केली, डिजिटल निर्माणतर्फ डिजिटल निर्माता पदम तिमिल्सिना तथा विविधतर्फ सिनियर फोटोग्राफर राजभाइ सुवाल निर्णायकमा हुनुहुन्थ्यो ।

हरेक विधाका उत्कृष्ट एक प्रतिस्पर्धीले भने रु पाँच हजार बराबरको पुरस्कार पाउने टिम सोचका अर्का सदस्य प्रशान्त पाण्डेले जानकारी दिनुभयो ।

निर्णायकमण्डलको सहभागितामा मंगलबार जुममार्फत फेसबुक तथा इन्स्टा लाइभ गर्दै आयोजकले नतिजा सार्वजनिक गरेको हो । विजेतालाई पुरस्कार भने लकडाउन सकिएपछि प्रदान गरिने टिम सोचका अर्का सदस्य संयमी थापाले जानकारी दिनुभयो ।रासस