• गृहपृष्ठ
  • बन्दाबन्दीले सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा रु एक अर्बको क्षति

बन्दाबन्दीले सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा रु एक अर्बको क्षति

Jun 9th, 2020

–शेरबहादुर सिंह
भीमदत्तनगर, २७ जेठ

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछालगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब रु एक अर्ब मूल्य बराबरको क्षति भएको छ । मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ वागवानी विकास अधिकृत खगेश्वरप्रसाद शर्माले लकडाउनका कारण सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कृषितर्फ ब्रोइलर कुखुरापालन, बिक्री वितरण र उत्पादनमा भएको बताउनुभयो ।

“ब्रोइलर कुखुराको दानापानी, खोप बन्द हुनाका साथै किसानले करिब ५० हजार कुखुरा गाड्नुपर्दा रु २५ करोड मूल्य बराबरको क्षति भएको तथ्याँक छ”, प्रवक्ता शर्माले रासससँग भन्नुभयो, “लकडाउनको पहिलो महिना धेरै क्षति पुगे पनि त्यसपछि सरोकारवाला निकायसितको समन्वयमा कृषिक्षेत्रमा सहजीकरण हँुदा राम्रो पनि भयो ।” कुखुरा, दाना, अण्डा उत्पादन तथा बिक्रीमा समस्या हुँदा गरेर रु ५० करोड क्षति भएको उहाँको भनाइ छ । “अहिले बजारमा कुखुराको मूल्य बढ्नाका साथै अभाव पनि देखिएको छ”, उहाँले भन्नुभयो, “आहारकै कारण चल्ला नष्ट गर्दा अहिले अभाव हुनु स्वाभाविक हो ।” उहाँले तरकारी बिक्रीमा सहजीकरण गरेकै कारण धेरै नोक्सान हुन नपाएको बताउनुभयो ।

“हावाहुरी र पानीले केहीहदसम्म बगरको तरकारीमा क्षति पुग्यो”, शर्माले भन्नुभयो, “सहजीकरणले नै किसानले गहुँ भित्र्याउन पाउनुका साथै अहिले धानको बीउ र मल सहजै उपलब्ध भइरहेको छ ।” लकडाउनका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादन भएको तरकारी र फलफूल निर्यात हुन सकेन । सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा गरी नौ हजार हेक्टर क्षेत्रफलमा तरकारीखेती, ११ हजार हेक्टरमा आलुखेती, पहाड र तराईमा गरेर आठ हजार हेक्टरमा फलफूलखेती हुँदै आएको मन्त्रालयले जनाएको छ ।

“लकडाउनअघि सुदूरपश्चिममा दैनिक ४० हजार लिटर दूध बजारमा आउँथ्यो”, शर्माले भन्नुभयो, “दुग्ध उत्पादनमा मात्रै दैनिक रु ८० लाखको क्षति भइरहेको छ ।” मासु बिक्रीमा रु दुईदेखि चार करोड मूल्य बराबरको क्षति पुगेको बताउँदै उहाँले ५०० टन माछासमेत बन्दाबन्दीका कारण बिक्री हुन नसकेको जानकारी दिनुभयो । “तरकारीमा दैनिक ५० टन बिक्री हुन समस्या भयो”, शर्माले भन्नुभयो, “तरकारीमा मात्रै रु दुईदेखि तीन करोड मूल्य बराबर क्षति भएको छ ।”

कृषि क्षेत्रमा भएको क्षतिबारे केन्द्रीय कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइएको छ । “पछिल्लो समय स्थानीय प्रशासनसित समन्वय हुँदा यहाँका सहकारीले करिब ६०० टन डिएपी मल भैरहवाबाट यहाँ ल्याएका छन्”, उहाँले भन्नुभयो, “धानको बीउ भने सुदूरपश्चिमकै स्थानीय उत्पादन पर्याप्त छ ।” मन्त्रालयले कृषि ज्ञान केन्द्रलगायतका निकायमार्फत रु दुई करोड अनुदानको धानको बीउ किसानलाई ५० प्रतिशत अनुदान रकममा वितरण गरिएको जानकारी दिनुभयो । “बीउका लागि हामीले अरुको मुख ताक्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “दुई हजार टन बीउ स्थानीय उत्पादन छ ।”

त्यसैगरी प्रदेश कृषि मन्त्रालयको चालू आर्थिक वर्षको करिब ५० प्रतिशत रकम फ्रिज हुने सम्भावना रहेको छ । “चालू आवमा मन्त्रालयअन्तर्गत रु दुई अर्ब ८० करोड बजेट विनियोजन भएको थियो”, प्रवक्ता शर्माले भन्नुभयो, “बन्दाबन्दीका कारण ५० प्रतिशत रकम खर्च हुनेसक्ने सम्भावना कम छ ।”

लकडाउनका कारण सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका विभिन्न कार्यक्रम सञ्चालन हुन सकेनन् । “यान्त्रिकीकरणलगायत केही ठूला योजनाको काम भने हुँदैछ”, शर्माले भन्नुभयो, “कृषि क्षेत्र यस वर्ष समस्यामा रह्यो ।”