• गृहपृष्ठ
  • स्थानीय उत्पादन बजारसम्म पुगेन, भारतीय उत्पादन गाउँगाउँमा

स्थानीय उत्पादन बजारसम्म पुगेन, भारतीय उत्पादन गाउँगाउँमा

Jun 6th, 2020

काठमाडौँ, २४ जेठ

प्रतिनिधिसभाका सदस्यले किसानको उत्पादन बजारमा जान नसकिरहेका बेला भारतबाट आयातित कृषिजन्य वस्तु भने गाउँगाउँमा पुगेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथि जारी छलफलमा भाग लिँदै सांसदहरुले मुलुकको कृषि उत्पादनलाई बजारीकरण गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मशीला चापागाईले नेपाली किसानले उत्पादन गरेको वस्तु बजारमा पुग्दैन तर भारतको उत्पादन कसरी गाउँगाउँमा पुगिरहेको छ भनी प्रश्न गर्नुभयो । उहाँले कृषिको उत्पादन र बजारीकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

पशुपालन र कृषिलाई १२ कक्षासम्म पढ्न पाउने गरी ऐच्छिकरुपमा पाठ्यक्रममा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद चापागाईले चियालाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्नेमा त्यसो हुन नसक्दा पूर्वका धेरै किसानले चित्त दुखाएको जानकारी गराउनुभयो ।

नेकपाकै राधा ज्ञवालीले कोभिड–१९ को कहरलाई सम्बोधन गर्ने गरी बजेट आएको तर अझै स्वास्थ्य मन्त्रालयको बजेट कम भएको उल्लेख गर्नुभयो । उहाँले कृषिमल, बीउ समयमै उपलब्ध गराउन र तरकारी, फलफूल, मासु, अण्डा र दुधजन्य वस्तुको उचित बजारीकरण गर्नसमेत माग गर्नुभयो । राज्यले किसानको उत्पादनको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले हिमाली क्षेत्रको खर्कलाई विकास गरी भेडापालनमार्फत ऊन उत्पादनतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । यस्तै फलफूल उत्पादन वृद्धि गर्नेतर्फ जोड दिन र दक्षिण तराईमा खाद्यान्न उत्पादनमा प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो । ऊर्जा खपतको वातावरण निर्माण गरी ऊर्जा उत्पादनमा सहुलियत कार्यक्रम ल्याउनसमेत उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुष्पा भुसालले बजेटले सङ्कट मुक्तिका लागि अपेक्षाअनुसार काम गर्न नसक्ने जिकिर गर्नुभयो । सदनमा विनियोजन विधेकमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले पूर्वाधारमा बढी बजेट विनियोजन भएको जिकिर गर्नुभयो । उहाँले कोरोनाको उपचार आरडिटी नभएको भनेर विश्व स्वास्थ्य सङ्गठनले भनिसकेको अवस्थामा सरकार किन आरडिटी किन्नतिर ध्यान केन्द्रित गरिरहेको छ भनी प्रश्न गर्नुभयो ।

साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा आश्रित रहेको मुलुक श्रमिक प्रधान देश भइरहेको भन्दै उहाँले कृषिमा आवश्यक बजेट उपलब्ध गराउन माग गर्नुभयो । यो वा त्यो नाममा कृषिको बजेट अन्य मन्त्रालयमा लगेर सरकारले कृषिको धज्जी उडाएको उहाँले आरोप लगाउनुभयो । भुसालले रोजगारी सिर्जना गर्नेतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी, अर्थ, श्रम तथा रोजगार, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन, उद्योग स्वास्थ्यलगायत शीर्षकमा आज सदनमा छलफल भएको थियो । सांसद विमला विश्वकर्मा, श्यामकुमार श्रेष्ठ, मायादेवी न्यौपाने, तिर्था गौतम, कमला रोका, हितबहादुर तामाङ, अञ्जना विसङ्खे, निरादेवी जैरु, प्रकाश रसाइली, छक्कबहादुर लामालगायतले विनियोजन विधेयकमाथि आआफ्नो धारणा राख्नुभएको थियो । बैठक आइतबार विहान ११ः०० बजे पुनःबस्नेछ ।रासस