काठमाडौँ, २४ जेठ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। उनी जेठ १६ गते डोल्पा स्थीत आफ्नो स्थाई घर पुगि होम क्वारेन्टिनमा बसेका थिए । उनको जेठ २० गते होम क्वारेन्टिनमा नै मृत्युु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी लामो समयदेखि दमका रोगी थिए।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको छ।