• गृहपृष्ठ
  • उद्योगी व्यवसायीद्वारा लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग छलफल

उद्योगी व्यवसायीद्वारा लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग छलफल

Jun 5th, 2020

काठमाडौँ, २३ जेठ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन)को ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताउनुभयो । उहाँले व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा कुरा राख्ने बताउनुभयो ।

उहाँले अन्य देशको जस्तो लकडाउन खोल्न मोडालिटी नेपालको नहुने भन्दै प्रदेश र जिल्लाअनुसार मोडालिटी फरक हुने बताउनुभयो । मन्त्री भट्टले प्रदेश नं २, कर्णाली र सूदुरपश्चिम प्रदेशमा भारतबाट आएका सङ्क्रमित बढीरहेकाले ती क्षेत्रमा मोडालिटी फरक हुनेसमेत उल्लेख गर्नुभयो । कोभिड–१९ का कारणले मुलुक गत चैत ११ गतेदेखि लकडाउनमा रहेको छ । मन्त्री भट्टले लकडाउनका बेला खाद्यवस्तु ओसारपसारमा अवरोध गर्नेलाई कारवाही गरिनेसमेत बताउनुभयो ।
रासस