आधारभूमि संवाददाता
काठमाडौं,जेठ २३
आन्तरिक राजस्व विभागले चौतर्र्फी दबाब आएपछि कर विवरण तथा विवरणअनुसारको कर रकम बुझाउनुपर्ने म्याद १५ दिन थपेको छ ।
यसअनुसार वैशाखसम्मको मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने म्याद ७ असारसम्म दिइएको छ ।
त्यस्तै चालू आवको चैत महिनामा बुझाउनुपर्ने संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद १५ असारसम्मलाई सारिएको छ ।
यसैगरी शिक्षा सेवाशुल्क टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद पनि ७ असारसम्मलाई तोकिएको छ । त्यस्तै आयकर भने १५ असारसम्ममा दाखिला गर्नुपर्नेछ ।
कर तिर्ने संवन्धमा उद्योगी तथा व्यवसायीले विरोध गरेपछि कर तिर्ने म्याद थप गरेकोहो । सरकारले यसअघि २५ जेठको म्यादमा कर विवरण र कर रकम बुझाउन ताकेता गरेको थियो तर करदाताहरूले म्याद थप्न सरकारलाई दबाब दिए पछि कर तिर्ने अन्तिम समय ७ असारलाई तोकिएको हो ।
यसअघि विभागले २५ जेठभित्र कर विवरण र विवरणअनुसारको कर रकम नबुझाए शुल्क, जरिवाना, थप दस्तुर र ब्याज तिर्नुपर्ने चेतावनी दिएको थियो । सरकाको कर तिर्न गरेको निर्णयको तर, उद्योगी–व्यवसायी मात्रै नभई राजनीतिक दलका नेता, पूर्वप्रशासक, अर्थविद् तथा आमसर्वसाधारणले समेत विरोध गर्दै म्याद थप्न सरकारलाई दबाब दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघले अर्थ मन्त्रालयलाई औपचारिक पत्र पठाएर कर दाखिला गर्ने म्याद सार्न आग्रह गरेको थियो भने नेपाल चेम्बर अफ कमर्सले पनि विज्ञप्ति जारी गर्दै कर तिर्ने म्याद सार्न माग गरेको थियो ।
केराना महामारी बढेसंगै सरकारले कर दाखिला गर्ने म्याद चैतदेखि थप्दै आएको छ । ज्सका कारण सरकारको राजस्व आय निकै कम भएको छ । कतिपय उद्योग त बन्द छन् र कर दाखिला गरेका छैनन् तर सञ्चालनमै रहेका थुप्रै उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनीलगायतले समेत कर दाखिला नगरेको अर्थ मन्त्रालयले जनाएको छ ।
राजस्व संकलनमा कमी
सरकारले २० जेठ सम्ममा ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यता, सञ्चालन खर्च मात्रै ६ खर्ब २० अर्ब ९० करोड पुगिसकेको छ । पुँजीगतसमेतको खर्च जोड्दा ८ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ पुगिसकेको छ । राज्य सञ्चालनमा रकम अभाव हुन थालेपछि सरकारले कर उठाउन ताकेता गरेको हो ।
उद्योग व्यवसाय बन्द भएका कारण कर्मचारीलाई तलब दिन मुस्किल परेको अवस्थामा कर बुझाउन नसकिने व्यवसायीले वताउँदै आएका छन् । अहिले सञ्चालन भइरहेका ४४ प्रकारका उद्योगबाट अग्रिम कर सम्भावना रहे पनि अवस्था जटिल रहेकोले कर संकलन हुन सकेको छैन । त्यस्तै सरकारले लकडाउन निरन्तर जारी गरे पनि उद्योग व्यवसाय सञ्चालनमा ध्यान दिएको छैन ।
यी शीर्षकको कर तोकिएको समयमा बुझाउनुपर्छ
विभागले प्रकाशन गरेको सूचनामा मूल्य अभिवृद्धि कर ऐन ०५२ बमोजिम ०७६ फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिरको चौमासिक कर विवरण तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद ०७७ जेठ २५ सम्म भनिएको छ ।
अन्तशुल्क ऐन ०५८ बमोजिम ०७६ फागुन र चैतको बुझाउनुपर्ने विवरण तथा त्यसबमोजिमको अन्तस्शुल्क दाखिला गर्ने म्याद ०७७ जेठ २५ सम्म, आयकर ऐन ०५८ बमोजिम ०७६ फागुन र चैतको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा त्यसबमोजिमको कर दाखिला गर्ने म्याद पनि जेठ २५ सम्म छ ।
यसैगरी आयकर ऐन ०५८ बमोजिम ०७६ चैतमा बुझाउनुपर्ने आर्थिक वर्ष ०७६र७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद ०७७ जेठ मसान्तसम्म, आर्थिक ऐन ०७६ को दफा ८ को उपदफा २ बमोजिम ०७६ फागुन र चैतको शिक्षा सेवा शुल्क दफा १४ को उपदफा २ बमोजिमको टेलिफोन स्वामित्व शुल्क तथा दफा १५ को उपदफा ३ बमोजिमको दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद ०७७ जेठ २५ सम्म बुझाउनुपर्नेछ ।