• गृहपृष्ठ
  • पेट्रोलियम पदार्थ माथिको कर जनतालाई २० अर्बको बोझ, सरकारलाई राजस्व उठाउने मेलो

पेट्रोलियम पदार्थ माथिको कर जनतालाई २० अर्बको बोझ, सरकारलाई राजस्व उठाउने मेलो

Jun 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं,जेठ २१

खुम्चदै गएको राजस्व बढाउन सरकारले सूर्ति चुरोट र विदेशी मदिरामा मात्रै होइन पेट्रोलियम पदार्थमा पनि कर बढाएको छ। पेट्रोलियम पदार्थमा बढाइएको करले ढुवानी भाडा , उत्पादन लागतका साथै यसले समग्र मूल्यबृद्धि नै बढाउँछ ।

चुरोट र मदिरामा लगाएको करका कारण केहि सिमित ब्यक्ति मात्रै प्रभावित हुन्छन् । र चुरोट र रक्सी त अत्यावश्यक बस्तु होइन बरु स्वास्थ्यका लागि हानिकारक नै हुन् । तर दैनिक आवश्यक पर्ने पेट्रोलियम पदार्थको मूल्य बढाउँदा यसले महंगी बढाउने र जनतामा निराशा छाउने हुन्छ ।

सरकारको राजस्व बढेपनि त्यसको मार भने आम उपभोक्तामा पर्ने देखिएको छ । किनभने तेलको भाउ घट्दा व्यवसायीले भाडा र उत्पादीत बस्तुको मूल्य घटाउँदैनन् । तर तेलको मूल्य बढ्यो भने बजारमा ह्वात्तै मूल्य बढाईहाल्ने प्रवृति छ ।

तेलको मूल्य बढ्दा यसले समग्र मूल्यबृद्धि बढाउन मद्दत गर्छ । यातायात खाद्यान्न र उत्पादनको मात्रै होइन तेलको मूल्यमा चाप परे यसले श्रमिकको समेत ज्याला बढ्नेछ । जसका कारण समग्र मूल्यबृद्धि नै उकालो लाग्ने हुन्छ ।

अहिले नै नेपालमा उत्पादित बस्तुले छिमेकी मुलुकमा उत्पादित बस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । इन्धनमा मूल्य बढेसँगै यसले झनै उत्पादन लागत बढाउँछ । सरकारले यसमा भने खासै बिचार पु¥याएको देखिदैन ।

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि सिमा क्षेत्रबाट तेल चोरी निकासी हुँदै गएकाले यसलाई नियन्त्रण गर्न सरकारले कर बढाएको तर्क छ । चोरी निकासी नियन्त्रण गर्नुका साटो प्रतिलिटर १० रुपैयाँ बढाइएको करबाट आगामी दिनमा भने मूल्यबृद्धि बढ्नेछ । भन्सारमा १० रुपैयाँ बढि तिर्न परेपनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सस्तो भएकाले अहिले नै नेपाल आयल निगमले तेलको मूल्य भने बढाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएपछि बल्ल सरकारले लगाएको कर जनताको थाप्लोमा पर्नेछ । राजस्व जुटाउनका लागि सरकारलाई यो लाभदायक नै होला, तर बजार मूल्य बढ्दा त्यसले फेरी सरकारप्रति नै असन्तुष्टि पनि बढाउन सक्छ ।

सरकारले यो वर्षको १० महिनामा १ खर्ब ४४ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको थियो, जसबाट राज्यले ४३ अर्ब राजस्व प्राप्त गरेको छ । गत वर्षकै आकडामा प्रतिलिटिर १० रुपैयाँ कर थप्ने हो भने यसले राज्यको २० अर्ब रुपैया राजस्व बढाउनेछ ।

भारतमा ३० रुपैयाँ प्रतिलिटरमा खरिद गर्ने निगमले अहिले भन्सार महसुल ३६ रुपैयाँ तिर्छ । कर बढ्नुृ अघिसम्म भने २६ रुपैयाँ मात्रै तिथ्र्याे । यसमा आयात गर्दा लागेको खर्च र अन्य खर्च १२ रुपैया सहित निगमलाई तेलको लागत मूल्य ७८ रुपैयाँ हुन आउँछ । यसरी हेर्दा अहिले पनि निगमलाई डिजलमा प्रतिलिटर ५ रुपैयाँ फाइदा । यही पाच रुपैयाँ फाइदा रहिरहेकाले तत्काल तेलको भाउ बढ्दैन । तर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उकालो लागे त्यसले यहाँको तेलको भाउ पनि बढाउनेछ ।