अभिनेत्री मनिषा कोइराला नेपालमा

Jun 2nd, 2020

बुटवल, २० जेठ

चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उहाँको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गर्नुभयो ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उहाँको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आउनुभएको छ । रासस