• गृहपृष्ठ
  • ऋणको ब्याज अझै घटेन , २ प्रतिशत छुट दिन बैंकको आनाकानी

ऋणको ब्याज अझै घटेन , २ प्रतिशत छुट दिन बैंकको आनाकानी

May 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १२

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ऋणको ब्याजमा छुट दिन भने पनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । सुरुमा त बैंकहरुले यसलाई पालना गर्नै मानेका थिएनन् । तर चौतर्फि बिरोध र राष्ट्र बैंक पनि आफ्नो निर्णयबाट पछि नहटेपछि बैंकहरु यसमा मौन सहमत भएका छन् ।

नेपाल बैंकर्स एसोसिएसन्का अध्यक्ष भुवन कुमार दाहाल बैंकहरुले असार मसान्तमा यस्तो ब्याज मिलान गर्ने बताउँछन् । अहिले बैंकहरुले ब्याज उठाउन भने ताकेता गरिरहेका छन् । तिर्ने बेलामा भने अहिले पनि ऋणीहरुले पहिलेकै ब्याजरमा तिर्नुपरेको छ ।

दाहाल भन्छन् ‘ असार मसान्तमा हिसाब मिलान गरेर त्यस्तो छुट दिन्छौ, राष्ट्र बैंकले भनेपछि हामीले त्यो पालना नगर्ने कुरै छैन, असार मसान्तमा ऋणीहरुले ब्याज घटाएको अनुभव गर्नुहुनेछ । ’

साथै बाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाइसकेका छन् । र आधार दर समेत घटिसकेको छ । आधार दर बैंकको ऋणमा दिइने ब्याज गणना गर्नका लागि बनाइएको उपकरण हो । तर यसको आधारमा बैंकहरुले ऋणको ब्याज भने घटाएका छैनन् । मुद्दति निक्षेपमा ९ दशमलव २५ प्रतिशत ब्याज दिएका बैंकहरुले अहिले त्यसलाई घटाएर ८ दशमलव २५ कायम गरेका छन् । अझ संस्थागत मुद्दति निक्षेपमा त डेढ प्रतिशतसम्म ब्याज घटेको छ । तर ऋणको ब्याज भने जस्ताको तस्तै छ ।

बैंंकहरुले दुई प्रतिशत ब्याज छुट दिन परेकाले अहिले आधार दरको ब्याजदर कायम गर्न नमानेका हुन् । राष्ट्र बैंकको बाध्यकारी व्यवस्था पालना गर्नुपर्दा यसले केहि उद्योगीहरु भने मारमा पर्ने भएका छन् ।

राष्ट्र बैंकले अहिले सञ्चालनमा रहेका उद्योग व्यवसाय नभइ बन्द भएका उद्योग व्यवसायलाई छुट दिन भनेको हो । २ प्रतिशत छुट दिन भनेको क्षेत्रमा अत्यावश्यक सेवाअन्तर्गत पर्ने खाद्य र औषधि उद्योग पर्दैनन् । तर अत्यावश्यक सेवाभित्र पर्ने उद्योग व्यवसाय पूर्ण क्षमतामा चलेका छैनन् । घर जग्गाको भाडा, कर्मचारीको तलब र बैंकको चर्को ब्याजका कारण उद्योगी व्यवसायी थलिएका छन् ।

२७ वटा वाणिज्य बैंकमध्ये २६ वटा बैंकको आधार ब्याजदर घटेको छ । पुस मसान्तको तुलनामा चैत मसान्तमा औसतमा शुन्य दशमलव एक दुई प्रतिशतले आधार ब्याजदर घटेको हो ।

यस्तो छ बैंकहरुको घटेको आधार ब्याजदर