• गृहपृष्ठ
  • किसानका उत्पादन बिक्रीका लागि हाटबजार

किसानका उत्पादन बिक्रीका लागि हाटबजार

May 23rd, 2020

स्याङ्जा, १० जेठ (रासस)

‘लकडाउन’का कारण आफूहरुले उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै किसानको गुनासो बढ्दै गएपछि भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको विक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको छ ।

कोभिड– १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै जाँदा किसानले उत्पादन गरेका कृषिउपजले बजार नपाएर कुहिएर जाने अवस्था आएपछि नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

वडा नं १ मा रहेको बसपार्कमा आजदेखि सामाजिक दूरी कायम गरी कृषि हाटबजार सञ्चालनमा आएको छ । बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालनमा आउने हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु नगरपालिकाले खरिद गरेर उपभोक्तालाई बिक्री वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

नगरप्रमखु छायाराम खनालले ‘लकडाउन’का कारण समस्यामा परेका किसान र उपभोक्ताबीचको पुलको काम नगरपालिकाले गरेको बताउनुभयो । किसानले उत्पादन गरेका वस्तु खेर जाने अवस्था आएपछि हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख खनालले बताउनुभयो ।