• गृहपृष्ठ
  • कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

May 23rd, 2020

रारा, १० जेठ (रासस)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुईहजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिष्ठान जुम्लाका निर्देशक डा मङ्गल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित ती स्वाबको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावतले बताउनुभयो ।

प्रतिष्ठानमै ४२४, कालिकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट ७८९, नेपाली सेना ७०, हुम्लाबाट ४०८, पत्रकार १८ जनाको स्वाबको पिसीआर परीक्षण गरिएको हो । आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ ।