शिक्षामा बजेट बढाउः सांसद

May 22nd, 2020

काठमाडौँ, ९ जेठ (रासस)

शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरुले समाजवादोन्मुख शिक्षाको स्थापनाका लागि उच्च प्राथमिकता दिइनुपर्ने जनाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री राम कार्कीले शिक्षामा समाजवादोन्मुख रुपान्तरणका लागि तल्लो तहबाट दबाब सिर्जना हुनुपर्ने बताउनुभयो भने नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले उत्पादनमुखी र व्यवहारिक शिक्षाका लागि बजेट वृद्धि गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्य डा सूर्य पाठक र कृष्णभक्त पोखरेलले एउटा देशमा दुई खालका नागरिक उत्पादन गर्ने शिक्षा प्रणााली अन्त्य गर्ने अहिले उपयुक्त अवसर भएको बताउनुभयो । राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्माले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा शिक्षामा रुपान्तरण गराउन संसद्मा आवाज उठाइएको बताउनुभयो ।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले विद्यालय क्षेत्र (जोइनिङ) गर्नुपर्ने, विषयगत शिक्षक थप्नुपर्ने, प्रारम्भिक बाल विकास र सूचना प्रविधिमा प्राथमिकता दिनुपर्ने जनाउनुभयो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले संसद्ले पारित गरेका शिक्षा ऐनअनुसार प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको मूल प्रवाहमा समावेश नगरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले प्रारम्भिक बाल विकासका सहजकर्ता शिक्षक र निजी विद्यालयका शिक्षकहरुको सुविधा अन्त्यन्त न्यून भएकाले वृद्धि गर्नुपर्ने बताउनुभयो ।