• गृहपृष्ठ
  • कृषिको सुधारका लागि उपयुक्त समय : मन्त्री भुसाल

कृषिको सुधारका लागि उपयुक्त समय : मन्त्री भुसाल

May 20th, 2020

काठमाडौँ, ७ जेठ (रासस)

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताउनुभएको छ । राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय भएको उहाँको भनाइ थियो । यस क्षेत्रमा तीन सरकारको फरक फरक भूमिका कानूनमार्फत निर्धारण गर्न सकिने उहाँले बताउनुभयो । संविधानअनुसार कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आएको उहाँको भनाइ थियो ।

अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बीउ र बालीको सूचीकृत गर्न सक्ने उहाँले बताउनुभयो । नेपाल सरकारले नियमन गर्ने, प्रदेश र स्थानीय सरकारले लागू गर्ने गरी विधेयक ल्याइएको मन्त्री भुसालको भनाइ थियो । कृषि क्षेत्र बजारलाई छोडिदिँदा झनै कमजोर भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “तीन तहको सरकारले मिलेर यसलाई व्यवस्थित गर्न सकिन्छ ।”