• गृहपृष्ठ
  • साउदी अरेबिया, दुबई र कुवेतको आम्दानी घट्दै, के होला नेपाली कामदारको रोजगारी ?

साउदी अरेबिया, दुबई र कुवेतको आम्दानी घट्दै, के होला नेपाली कामदारको रोजगारी ?

May 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ६

साउदी अरेबिया दुबई र कुवेतको आम्दानी तेलको मूल्य घटेसँगै कम हुने देखिएको छ । ति देशमा रहेका तेल कम्पनीमा कामगर्ने कामदारहरुले यसको पहिलो असर खेप्नु पर्नेछ । तर देशकै रोजगारी नभए बिस्तारै अन्य क्षेत्रमा पनि यसको प्रभाव देखिनेछ ।

एकातिर कच्चा तेलको मूल्यमा गिरावट र अर्कातिर कोरोना भाइरसको महामारीका कारण ती देशको व्यापार निकै घटेको छ । खाडी मुलुकको आर्थिक वृद्धि ३ देखि ४ प्रतिशतले घट्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको छ । महामारी लम्बिए अझै गिरावट आउनेछ । त्यसको असर नेपाल भित्रिने विप्रेषणमा पर्ने देखिन्छ ।

नेपाल भित्रिने विप्रेषणको ३० प्रतिशत हिस्सा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेतबाट आउँछ । १३ प्रतिशत विप्रेषण आउने साउदी अरेबिया विश्वमै ठूलोमध्येको तेल उत्पादक मानिन्छ । संयुक्त अरब इमिरेट्स र कुवेतको मुख्य आयस्रोत पनि कच्चा तेल भएकाले व्यापार गिरावटका कारण ती मुलुकका तेल कम्पनीले श्रमिकलाई अहिले आंशिकरुपमा काम लगाइरहेका छन् । ती देशले तत्काल नयाँ श्रमिकको माग गर्ने अवस्था पनि छैन ।

नेपाली युवाहरुको रोजगारीको मुख्य गन्तव्य खाडी मुलुक हुन् । भारतबाहेक वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ७५ प्रतिशत खाडी मुलुकमा कार्यरत छन् । खाडी मुलुकहरुको मुख्य आयस्रोत कच्चा तेल हो । तर कच्चा तेलको मूल्य यो वर्ष गत वर्षको तुलनामा झन्डै ५० प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएकामा यो वर्षको ८ महिनासम्म ५ खर्ब ९२ अर्ब मात्र भित्रिएको छ । विप्रेषण सेवा प्रदायक कम्पनीहरुका अनुसार चैत र वैशाखमा ५० प्रतिशतले घटेको छ । यो वर्षझण्डै डेढ खर्बले घट्ने राष्ट्र बैंकको अनुमान छ । नेपालीको रोजगारगन्तव्य कतारको मुख्य आयस्रोत ग्यास र मलेसियाको औद्यागिक उत्पादन भएकाले ती मुलुकमा तत्कालै रोजगारी प्रभावितनभए पनि विश्व अर्थतन्त्रमा आउन सक्ने मन्दीबाट भने अछुतो रहने छैन ।

मलेसिया र खाडी मुलुकमा काम गर्नेमध्ये ३० हजार श्रमिकस्वदेश फर्किन तयारी अवस्थामा छन् । खाडी मुलुकको व्यापारमा गिरावट र त्यसले विप्रेषणमा पर्ने प्रभावलाई मध्यनजर गरी सरकारले रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम बजेटमा समाबेश गर्नु जरुरी छ ।