• गृहपृष्ठ
  • नौ महिनामा नौ खर्ब तीन अर्बको व्यापार घाटा

नौ महिनामा नौ खर्ब तीन अर्बको व्यापार घाटा

May 18th, 2020

काठमाडौ, जेठ ५

आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु व्यापार घाटा आठ दसमलव नौ प्रतिशतले संकुचन भई नौ खर्ब तीन अर्ब ७२ करोड कायम भएको छ । देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी गत वर्षको सोही अवधिमा यस्तो घाटा २१ दसमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैकले जनाएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव छ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु आयात सात दसमलव पाँच प्रतिशतले घटेर नौ खर्ब ८२ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१ दसमलव तीन प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात तीन दसमलव एक प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२ दसमलव तीन प्रतिशत र एक प्रतिशतले घटेकोे छ ।

चालुु आर्थिक बर्षको नौ महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार नौ महिनामा कुल वस्तु निर्यात १२ दसलमव नौ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दसमलव सात प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २५ दसमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८ दसमलव एम प्रतिशत र सात दसमलव पाँच प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको राष्ट्र बैकले जनाएको छ ।