• गृहपृष्ठ
  • ९ महिनाको आयात धान्न पुग्ने ११ खर्ब ५५ अर्ब विदेशी मुद्रा सञ्चीत, रेमिट्यान्स घट्दा चिन्ता बढ्यो

९ महिनाको आयात धान्न पुग्ने ११ खर्ब ५५ अर्ब विदेशी मुद्रा सञ्चीत, रेमिट्यान्स घट्दा चिन्ता बढ्यो

May 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ४

कोरोना संक्रमणका कारण रेमिट्यान्स ४ प्रतिशतले घटेको छ । जसको सिधा असर देशको बैंदेशिक मुद्रा सञ्चीतिमा पर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तमा ११ खर्ब ५५ अर्ब ९० करोड बराबरको बैदेशिक सञ्चीति छ। जुन २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड थियो । यो बिचमा बैदेशिक मुदा्र ११.३ प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ अर्ब ४९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ खर्ब ९६ अर्ब ८ करोड पुगेको छ ।

विदेशबाट लत्ताकपडा, कृषि उपज, पेट्रोलियम पदार्थदेखि मेसिनरी औजार र सवारीसाधन किन्न विदेशी मुद्रा चाहिन्छ । लकडाउनका कारण आयात निकै घटेकोले अहिले खासै समस्या छैन । तर लकडाउन सकिएपछि आयात बढ्ने तर विदेशी मुद्रा भित्रिने क्रम घट्ने भएकाले कसरी धान्ने भन्ने पिरलो सुरु भएको छ ।

वैदेशिक मुद्रा आर्जनको मुख्य आधार वैदेशिक रोजगारीमा कोरोना भाइरसको महामारीको असर परिसकेको छ । यस्तै पर्यटनक्षेत्रले कहिलेबाट आम्दानी गर्छ, अहिले नै भन्न सकिने अवस्था छैन । गभर्नर महाप्रसाद अधिकारीले महामारीको असर विश्वभर परेकाले वैदेशिक लगानीको आश गर्न नसकिने संसदीय समितिमै बताइसकेका छन् । यस्तै निर्यात वृद्धि हुने आधार पनि देखिँदैन । जसका कारण विदेशी मुद्राको व्यवस्थापन निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

भारत, बेलायत, सिंगापुर लगायत देशको सेनामा काम गरी अवकाश पाएका नेपालीले पाउने निवृत्तिभरणविदेशी मुद्रा आर्जनको एउटा आधार हो । पेन्सनवापत गत आर्थिक वर्ष ६२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको थियो । यस्तै गत आर्थिक वर्ष निर्यातवापत ९७ अर्ब, पर्यटन आय७५ अर्ब,ऋण ८१ अर्ब र प्रत्यक्ष वैदेशिक लगानीवापत १३ अर्ब रुपैयाँ प्राप्त भएको थियो । गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएकामा यो आर्थिक वर्ष २० प्रतिशतले गिरावट आउने राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । जुन गिरावट त चैत महिनासम्मको रेमिट्यान्स स्थितीले पनि संकेत गरिसकेको छ ।