• गृहपृष्ठ
  • १२ बैंकको नाफा घट्यो , ठूला बैंककै नाफामा धक्का – यि हुन् नाफा घट्ने बैंक (सूचिसहित )

१२ बैंकको नाफा घट्यो , ठूला बैंककै नाफामा धक्का – यि हुन् नाफा घट्ने बैंक (सूचिसहित )

May 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ४

गत वर्षको चैत मसान्तसम्म ४५ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएका २७ बैंकहरुको यो वर्षको नाफा ४५ अर्ब २४ करोडमा झरेको छ । गत वर्षको यही अवधिको तुलनामा १ प्रतिशत अर्थात ४२ करोडभन्दा बढीले घटेको छ ।

बैैंकहरुले हालैमात्र प्रकाशन गरेको वित्तीय विवरण अनुसार आधाजसो बैंकको नाफामा गिरावट आएको छ । चैत मसान्तसम्मको वित्तीय विवरणमा लक डाउनका २० दिन मात्र समेटिएका छन् । २० दिन लक डाउन भएपनि ब्याज भने चैत मसान्तमा तिर्ने धेरैले तिरेनन् । जसका कारण नै नाफामा धक्का लागेको हो ।

राष्ट्र बैंकले ब्याज र किस्ता बुझाउने समय पनि असार मसान्तसम्म लम्ब्याइदिएको छ । जसका कारण पनि ऋणीहरुले समयमै ब्याज र किस्ता तिरेनन् , जसको असर पनि नाफामा परेको हो ।

बैंकहरुबीच भएको तीब्र प्रतिस्पर्धा, बढ्दो सञ्चालन खर्च र ब्याजको कर्जा–निक्षेप अन्तर खुम्चिएकाले गत पुसमा नै बैंकहरुको नाफा गत वर्षजस्तो बढ्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैंकहरूको खुद नाफा यस वर्षको पुसमा साढे ६ प्रतिशतमा सीमित भएको थियो । दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकले ३२ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए, जुन गत वर्षको तुलनामा साढे ६ प्रतिशत बृद्धि थियो ।

चौथो त्रैमासमा त नाफा झनै ओरालो लागेको छ । बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहाल भन्छन् ‘ ऋणीहरुबाट ब्याज आएको छैन, ब्याज समयमा नआएका कारण केहि बैंकको नाफामा धक्का लागेको छ, अझै यो असार मसान्तमा बढेर जाने देखिएको छ । ’

लकडाउन सुरु भएको चैत महिनाबाटै बैंकहरुको नाफा घट्न थालेको छ । मुलुकका २७ वटा वाणिज्य बैंकमध्ये १२ वटाको नाफा चैतमै घटेको छ ।

बैंकहरुको कुल नाफामा १ प्रतिशतको मात्रै गिरावट भएपनि वितरणयोग्य मुनाफामा भने ६० प्रतिशतको गिरावट आएको छ ।

अर्ब कमाउने बैंकहरुको नाफामा नै ठूलो धक्का लागेको छ । ठूला बैंकको कारोबार पनि ठूलो हुने हुँदा उनिहरुको नाफामा हुने गिरावट पनि ठूलो नै देखिन्छ । गत वर्ष उच्च मुनाफा गर्नेको सूचिमा परेका राष्ट्रिय बाणिज्य, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको हो । सरकारको लगानी रहेका नेपाल बैंक, कृषि बिकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाफामा लक डाउनले सिधा असर गरेको देखिएको छ ।

१२ बैंकको नाफामा गिरावट आएपनि १५ बैंकको भने नाफा बढेको देखिएको छ । तर , असारमसान्तमा भने नाफा घट्ने बैंकहरु झनै बढ्ने बैंकर्स बताउँछन् । किनकी लकडाउनको असर त अझै असारमसान्तमा देखिनेछ ।

ब्यापार व्यवसाय ठप्प भएका कारण ऋणीले बैंकहरुलाई तिर्न सक्ने आधार नै छैन । स्वास्थ्य र खाद्यान्न बाहेकका अन्य उद्योगले उत्पादन नै गर्न सकेका छैनन् । उत्पादित बस्तु पनि बजारसम्म पु¥याउन कठिन भएकाले आम्दानी गर्न सक्ने स्थिती छैन । जसको असर बैंकको ब्याज र सरकारको राजस्वमा परेको छ ।

नाफा घटेका बैंकहरु

बैंक गत वर्षको चैत मसान्तयो वर्षको चैत मसान्त
नबिल
३ अर्ब १९
३ अर्ब १५ करोड
राष्ट्रिय बाणिज्य
३ अर्ब ४९
३ अर्ब ३ करोड
नेपाल इन्भेष्टमेन्ट
२ अर्ब ५६
२ अर्ब ४९ करोड
कृषि बिकास
२ अर्ब २१
२ अर्ब ४ करोड
नेपाल बैंक
२ अर्ब २४ करोड
१ अर्ब ९९ करोड
नेपाल एसबिआई
१ अर्ब ६० करोड
१ अर्ब ४३ करोड
सिद्धार्थ
१ अर्ब ५९ करोड
१ अर्ब ३३ करोड
माछापुच्छ«े
१ अर्ब २४ करोड
१ अर्ब १६ करोड
बंगलादेश
१ अर्ब १४ करोड
१ अर्ब
सनराइज
१ अर्ब २२ करोड
९३ करोड
बैंक अफ काठमाडौं
१ अर्ब २० करोड
८७ करोड
सिभिल
४९ करोड ३६ करोड