• गृहपृष्ठ
  • कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु

May 16th, 2020

काठमाडौं, ३ जेठ

पहिलोपटक नेपालमा कोरोना भाइरसबाट एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिला रहेकी छिन् । कोरोनाको कारण उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

नौ दिनअघि मात्रै त्रिवि शिक्षण अस्पतालमा उनको नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको र स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

आकस्मिक कक्षमा लाँदालाँदै उनको मृत्यु भएको अस्तपालले जनाएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। थप पुष्टी गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ। मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ। नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो।