• गृहपृष्ठ
  • महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : अध्यक्ष दाहाल

महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : अध्यक्ष दाहाल

May 14th, 2020

काठमाडौँ, १ जेठ (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएकोे पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको र यसका विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थितिअनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको छ । नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो ।”

उहाँले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिनुभयो ।

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले सामुदायिक र निजी विद्यालयका गरी २५० शिक्षक सहभागी रहेको प्रशिक्षणमा गुगल सर्टिभाइड प्रशिक्षक सुशील उप्रेतीको समूहले सहजीकरण गर्नेछ ।