उपभोक्ता सधैँ मारमा

May 7th, 2020

गलकोट, २५ वैशाख (रासस)

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउनका कारण अण्डा उत्पादक किसानले सस्तो मूल्यमा अण्डा बेच्दा लगानी डुब्न थालेको गुनासो गरे पनि उपभोक्ताले भने पुरानै मूल्यमा अण्डा खरिद गरिरहेका छन् । सप्लायर्सलाई सस्तो अण्डा उपलब्ध गराए पनि खुद्रा मूल्य नघट्दा उपभोक्ता मर्कामा परेका हुन् ।

लकडाउनका कारण अण्डा उत्पादनक किसानले फार्ममै अण्डा कुहिन थालेपछि मूल्य घटाएरै भए पनि अण्डा बिक्र गर्दासमेत उपभोक्ताले लकडाउनअघिकै मूल्यमा अण्डा खरिद गर्न बाध्य भएका छन् । अहिले अण्डालाई पोल्टी फार्मले रु नौमा सप्लायर्सलाई उपलब्ध गराए पनि उपभोक्ताले रु १५ मै खरिद गर्दै आएका छन् । लकडाउनको मौका छोपी एउटै अण्डामा रु ६ नाफा खाँदा अण्डा उत्पादक किसान र उपभोक्ता ठगिँदै आएका छन् ।

किसानले करोडौँ लगानी गरी उत्पादन गर्दै आएको अण्डा लकडाउनका कारण बिक्री नभएको भन्दै बिचौलियाले सस्तो मूल्यमा खरिद गर्दै पुरानै मूल्यमा अण्डा बेच्दै आएका हुन् । अण्डाको क्यारेट तथा धेरै खरिदमा केही छुट गरे पनि खुद्रा अण्डालाई रु १५ मै बिक्री भइरहेको छ । तर, सप्लायर्सले भने लकडाउनको समयमा ढुवानीलगायत विषयमा समस्या भएको भन्दै मूल्य घटाउन मानेका छैनन् ।

उत्पादन भएका अण्डा गोदाममै थन्किन थालेपछि प्रतिवटा रु नौमा अण्डा बेच्दै आएको बलेवा बुहउद्देश्यीय कृषि तथा पोल्टी उद्योगका सञ्चालक प्रकाश सुवेदी रखालले जानकारी दिनुभयो । “हामीले सस्तोमा अण्डा बिक्री गर्दा उपभोक्तालाई पनि केही सस्तो परे हुन्थ्यो”, रखालले भन्नुभयो, “हामीलाई सस्तोमा अण्डा बेच्दा लगानी डुब्ने चिन्ता छ, बिचौलियाले लकडाउनमा धेरै नाफा कमाउन थाले ।”

लकडाउनको मौका छोपेर कालोबजारी हुन सक्ने भन्दै अनुगमनलाई तीव्रता दिइरहेको जिल्लास्तरीय अनुगमन समितिको संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्माले बताउनुभयो । उहाँले कूल उपभोग्य वस्तुमा खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने जानकारी दिनुभयो । “बजार अनुगमन गरिरहेका छौँ”, शर्माले भन्नुभयो, “अहिले खाद्यान्नको अनुगमनलाई जोड दिइरहेका छौँ, अनुगमनका क्रममा अण्डामा बढी मूल्य लिएको पाइएमा कारवाही गर्छौँ ।”
.