• गृहपृष्ठ
  • कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि त्रिशूली अस्पतालमा एक जना आइसोलेशनमा

कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि त्रिशूली अस्पतालमा एक जना आइसोलेशनमा

May 6th, 2020

विदुर, २४ वैशाख (रासस)

विदुर नगरपालिकाका एक व्यक्तिलाई कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनी एक महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए ।

अपराह्न ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार थालिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । आज उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौंँ पठाइएको छ । आज कोरोना भाइरसको आशंकामा आइसोलेशनमा राखिएको उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ ।

यसअघि पनि नुवाकोटका दुई जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाब परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो । त्यस्तै नुवाकोटकै एक जनालाई काठमाडौंँमा आइसोलेशनमा राखिएकामा उनी पनि कोरोना भाइरसको संक्रमण फेला नपरेपछि घर फर्किसकेका छन् ।