• गृहपृष्ठ
  • कोराना भाइरस रोकथाममा वैकल्पिक चिकित्सामा जोड दिइनेछ : स्वास्थ्यमन्त्री ढकाल

कोराना भाइरस रोकथाममा वैकल्पिक चिकित्सामा जोड दिइनेछ : स्वास्थ्यमन्त्री ढकाल

May 5th, 2020

काठमाडौँ, २३ वैशाख(रासस)

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै नेपालमै परम्परागतरुपमा अभ्यास गरिंदै आएको वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइने बताउनुभएको छ । आज मन्त्रालयमा सोवा रिग्पा एशोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रु तीन लाख अध्यक्ष रकम ग्रहण गर्दै मन्त्री ढकालले सरकारले कोभिड­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरिएको बताउनुभयो ।

उहाँले कोभिड ­१९ बाट बच्न नागरिकस्तरबाट सरकारलाई ठूलो सहयोग प्राप्त भएको बताउँदै यसले यस रोगविरुद्धको लडाइँमा जुध्न सहयोग पुगेको छ भन्नुभयो । एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले यस रोगको रोकथाम र नियन्त्रणका लागि भविष्यमा आवश्यक औषधि हस्तान्तरण र स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताउनुभयो ।

सोवा रिग्पा उपचार पद्धतिको प्रभावकारिता

हाल विश्वभर कोरोना भाइरस (कोभिड­१९) को उपचार तथा खोप तयार नभएको अवस्थामा यस रोग लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भएकाले नेपालमा पनि सरकारले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण र एन्टिभाइरल गुण भएका विभिन्न जडीबुटीको सेवन गर्न सकिने सम्भावनालाई पनि महत्व दिएको छ । सरकारले कोभिड­ १९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन किने उल्लेख छ । कोरोनासहित अन्य भाइरसजन्य संक्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रवल हुनुपर्नेमा जाड दिएको छ ।

वैकल्पिक चिकित्साअन्र्तगत सोवारिग्पा तन्त्र अनुसार यी औषधिहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सरुवा रोगहरुको रोकथाम र निको गर्न सकिने भएकाले चीन, भारत, अमेरिकालगायत विभिन्न देशहरुले यसतर्फ जोड दन थालेका छन् । नेपालमा पनि गाउँघरमा प्रशस्त पाउन सकिने असुरो, बेसार, गुर्जो, त्रिफला, जाइफल, ल्वाङ, अलैंची, केशर, सुकमेलजस्त जडिबुटीले वायुपित्त उदर प्रदाहसम्बन्धी रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने सोवा रिग्पा एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङ बताउनुहुन्छ । यस्ता औषधिहरु सामान्यतः वृद्ध, बच्चालाई आधा चिया चम्चा, वयस्कलाई एक चम्चा, वयस्कलाई एक चम्चा बिहान, बेलुका खान दिनुपर्ने उहाँको भनाइ छ ।

आधुनिक चिकित्सा कतिपय सर्नेखालका रोगहरुको उपचारमा प्रभावकारी भएपनि नसर्ने किसिमका अधिकांश रोगहरुको उपचार गर्ने भन्दा पनि अन्य असर पार्ने भएकाले मानिसहरु सोवा रिग्पालगायत अन्य प्राकृतिक उपचारतर्फ आकर्षित भएको देखिन्छ । वनस्पति तथा जडीबुटीमा आधारित सोवा रिग्पा उपचार पद्दतिमा शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने प्रयास गरिन्छ । यो पद्दतिले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिँदै मानिसको दीर्घ स्वास्थ्यको सुनिश्चित गर्न मद्दत पुग्ने एशोसिएशनका महासचिव एवं सोवारिग्पा इन्टरनेशनल कलेजका प्राचार्य डा निमा छिरिङ नेपालीको भनाइ छ ।

सोवा रिग्पा हिमालय क्षेत्रमा पाइने जडीबुटी, खनिज र प्राकृतिक रुपमा उत्पादित वस्तुहरुको प्रयोग गरी गरिने वैकल्पिक र उपचारात्मक विधि हो । बुद्ध दर्शनद्वारा दीक्षित सोवा रिग्पा उपचार पद्दतिले मानिसलाई लामो समयसम्म स्वास्थ्य रही बाँच्न सिकाउँछ । सोवा रिग्पा उपचार पद्दति शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने वैज्ञानिक उपचार पद्दति हो ।

नेपालमा प्रतिरक्षात्मक, प्रवद्र्धनात्मक, पुनःस्थापनात्मक र उपचारात्मक स्वास्थ्य सेवाका लागि एलोप्याथी र आयुर्वेद चिकित्सा प्रणालीबाहेक होमियोप्याथी, युनानी, योग तथा प्राकृतिक चिकित्सा, परम्परागत चिनियाँ चिकित्सा, सोवा रिग्पा (आम्ची) चिकित्सा पद्धतिलाई पूरक चिकित्साअन्तर्गत राखिएको छ । सोवा रिग्पाको उपचार सेवा सस्तो र सरल हुने भएकाले विपन्न तथा मध्यम वर्गका लागि निकै उपयोगी बनेको छ । त्यस्तै यसको उपचारको प्रभाव लामो समयसम्म रहने र त्यसले शरीरमा कुनै असर नगरी सकारात्मक प्रभाव दिने भएकाले पनि यसको प्रभाव विश्वव्यापीरुपमै बढ्दै गएको छ ।