खरबुजा बारीमै खेर जाने चिन्ता

May 3rd, 2020

–मानबहादुर चौधरी
गुलरिया, २१ वैशाख(रासस)

बर्दिया जिल्लाको गुलरिया नगरपालिका भएर बग्ने बबई नदी किनारामा बालुवाले भरिएको जग्गामा फलेका खरबुजा बोटमै कुहिएर खेर जाने चिन्ता किसानलाई परेको छ । बबई किनारमा गुलरिया नगरपालिका वडा नं ४ बगहीका किसानले फलाएको खरबुजा लकडाउनका कारण बजारसम्म पु¥याउन नपाउँदा खेर जाने स्थिति आएको छ । आएपछि किसानहर चिन्तित बनेका छन ।
मेहनन गरी लगाइएको खरबुजा फलेर अहिले पाक्न शुरु भए पनि बिक्री गरिने स्थल हाटबजार बन्द छ । खरबुजा बिक्री गर्नका लागि गाउँगाउँ र बजार हिँड्ने गरेकामा लकडाउनका कारण रोकिएको स्थानीय किसान लौटन थारुले बताउनुभयो ।

खरबुजा रोपिएको बारी छेउबाटै बाटो गएको छ । विगत वर्षमा बाटो छेउमै बसेर बटुवालाई बिक्री गरेर पनि राम्रै आम्दानी हुने गरेको थियो । यस वर्ष भने लकडाउनका कारण मानिस घरमै बसेका छन् । बाटामा हिँड्ने कोही छैन । बाटो सुनसान प्रायः छ बाटो ।

पहिलेका वर्षमा थोरै किसानले थोरै क्षेत्रफलमा खेती गर्दै आएका थिए । यस वर्ष बबईको १० बिघा जति बगरमा स्थानीय बगहीका ५५ किसानले नगदे बालीका रुपमा पाँचदेखि १० कट्ठा जग्गामा खरबुजा खेती गरेका छन् । नदीको पानीले बनाएको बगरमा स्थानीय किसानले आआफ्नो लगानी क्षमतानुसार भाग लगाएर बगरको बालुवामा खरबुजा लगाउँदै आएका हुन् ।

बालुवामा खेती गर्नु त्यति सहज हुँदैन । परम्परागत रुपमा विशेष तरिकाले गोबर र रासायनिक मल मिलाएर खनिएको खाल्डामा मलका रुपमा प्रयोग गरेर खरबुजा खेती गरिन्छ । यसरी खेती गर्दा प्रतिकट्ठा रु पाँच हजारसम्म लाग्ने गरेको किसान लौटनले बताउनुभयो ।

विगत वर्षमा १० कट्ठा बगरको बालुवामा रु ६० हजार लगानी लगाएर उत्पादन गरिएको खेतीबाट रु एक लाखसम्म आम्दानी भएको स्थानीय किसान क्षेत्रबहादुर थारुले बताउनुभयो । यस वर्ष उत्पादन राम्रै भए पनि बिक्री नै गर्न नपाई बारीमै कुहिएर जाने हो कि भन्ने चिन्ता उहाँमा छ ।

गत वर्ष पहिलो पटक तीन कट्ठा बगरमा रु तीन हजार लगानी गरेर खरबुजा खेती गरी रु २० हजार कमाउन सफल ३० वर्षीया वसन्ती थारुले यस वर्ष पाँच कट्ठामा खेती गर्नुभएको छ । आफूसँग लगानी गर्ने पैसा नभएपछि उहाँले गाउँकै समूहबाट रु १० हजार ऋण निकालेर लगानी गरेर खेती गर्नुभएको हो । उत्पादन राम्रै भएकामा वसन्ती उत्साहित भए पनि लकडाउनका कारण साप्ताहिक हाटबजार बन्द रहेको र गाउँगाउँ गएर बिक्री गर्न हिँड्न नपाउँदा ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको वसन्ती बताउनुहुन्छ ।

स्थानीय प्रशासनले अत्यावश्यक वस्तु खरिदबिक्री गर्न सर्वसाधारणलाई सहजताका लागि हरेक दिन बिहान ११ देखि अपराह्न २ बजेसम्म खुकुलो बनाएर खाद्य वस्तु र तरकारी बिक्री गर्ने पसल खुला गर्न दिएको छ । प्रशासनले हरेक दिन खाद्य वस्तु खरीदबिक्री गर्न दिएका समयमा मात्र किसानले उत्पादन गरेको खरबुजा बिक्री गर्न सम्भव छैन ।

लकडाउनको कारण सबै सार्वजनिक क्षेत्र बन्द हुँदा मीठो मानेर खाई गर्मी भगाउन मानिस बाहिर आउन अवस्था नभएपछि ऋण निकालेर मेहनत गरी उत्पादन गरिएको खरबुजा बगरमै कुहिएर जाने हो कि भन्ने चिन्ता बढेको किसान बताउँछन् ।