भौतिक पूर्वाधारको बजेटमाथि छलफल शुरु

Apr 30th, 2020

काठमाडौँ, १८ वैशाख (रासस)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटमाथि छलफल शुरु गर्नुभएको छ ।

मन्त्री नेम्वाङले आव २०७७/७८ का नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वमन्त्री, प्रतिनिधसभाका सांसद र प्रदेश सदस्यहरुसँग छलफल शुरु गर्नभएको हो । उहाँले कोभिड–१९ सङ्क्रमणको त्रास भएकाले मन्त्रालयमा सामाजिक दुरी कायम गर्दै छलफल शुरु गर्नु भएको हो ।

मन्त्री नेम्वाङले बुधबार र आज दुवै दिन छलफल गर्नुभएको थियो । उहाँले बुधबार प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गर्नुभएको थियो । आज उहाँले प्रदेश नं १, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्नुभएको थियो ।

छलफलमा सहभागी सांसदहरुले कोरोनाको कहरबीच आउन लागेको बजेटमा भौतिक पूर्वाधारका क्षेत्रलाई कसरी प्रभावकारी रुपमा समेट्ने लगायतका विषयमा सुझाव राख्नुभएको थियो । उहाँहरुले राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता दिइनुपर्ने बताएको मन्त्रालयले जनाएको छ ।