• गृहपृष्ठ
  • बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका ६९ पर्यटकलाई काठमाडौँ पठाइयो

बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका ६९ पर्यटकलाई काठमाडौँ पठाइयो

Apr 30th, 2020

चिप्लेढुङ्गा, १८ वैशाख (रासस)

बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौँ पु¥याउने व्यवस्था मिलाइएको हो ।

स्वीस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौँ लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो । बन्दाबन्दी यता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।

काठमाडौँ जान लागेका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अष्टे«लिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानिया मुलुकका रहेका छन् । काठमाडौँबाट फ्रेन्च राजदूतावासले पेरिसमा मे २ मा विमान चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ ।

पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहनुभएका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौँ पठाइएको जानकारी दिनुभयो । पोखराका विभिन्न होटल एवं गेष्ट हाउसमा अझै पनि केही विदेशी पर्यटक रहेका र उनीहरुले आफ्नो देशभन्दा यतै सुरक्षित महसुस गर्ने गरेका पाइएको छ ।