• गृहपृष्ठ
  • पार्टीगत स्वार्थभन्दा माथि उठ्न महामन्त्री डा कोइरालाद्वारा आह्वान

पार्टीगत स्वार्थभन्दा माथि उठ्न महामन्त्री डा कोइरालाद्वारा आह्वान

Apr 30th, 2020

काठमाडौँ, १८ वैशाख (रासस)

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गर्नुभएको छ ।

भिडियो सन्देश मार्फत् आज उहाँले सो भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती महिला र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको उल्लेख गर्नुभएको छ ।

महामन्त्री डा कोइरालाले सिमानामा अड्केका तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र काँग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिलमा जनाउनुभएको छ ।

लाखौँलाख जनताको ज्यान जोखिममा भएको यस सङ्कटको बेला कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खता मात्र होइन जनताप्रतिको धोकाधडी भएको बताउँदै उहाँले सङ्कटको समयमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ । “म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरुको काम कति चुनौतीपूर्ण छ भनेर बुझ्न सक्छु । त्यसैले यसमा स्वास्थ्यकर्मीलाई सहयोग र सम्मान गर्न सबैलाई आग्रह गर्दछु”, महामन्त्री डा कोइरालाले भन्नुभएको छ ।

साथै उहाँले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना दिँदै वर्तमान विषम परिस्थितिमा घरमै बसेर नमाज पढ्न र भीडभाड नगरिदन आग्रहसमेत गर्नुभएको छ । भिडियो सन्देशमा उहाँले कारोना भाइरसको सङ्क्रमणका जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउनुभएको छ ।