• गृहपृष्ठ
  • कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्यामा

कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्यामा

Apr 29th, 2020

काठमाडौ, बैशाख १७

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाजले आयोजा गरेको विषम् परिस्थितिमा सहकारीको भूमिका विषयक भिडियो कन्फ्रेन्समा बोल्दै काठमाडौ उपत्यकाका सहकारी अगुवाहरुले मन्त्रालयको परिपत्र अनुसार तत्काल सहकारले सेवा दिन कठिन भएको र सरोकारवालाहरुले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

बागमती प्रदेश सरकारले सहकारीको कार्यालय खोली दैनिक तीन घण्टा सेवा दिन निर्देशन दिए पनि हिडडुल गर्न समस्या भएको, सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गर्न समस्या हुने उनीहरुको भनाई छ । कर्मचारी समेत भ्याली बाहिर रहेकाले सेवा दिन र सदस्यले कार्यालयमा आएर सेवा लिन कठिन भएको उपत्यकाका सहकारीका अगुवाहरुले बताएका हुन् ।

बैशाख ११ गते बाग्मती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना प्रकाशन गरी बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन सहकारीलाइ निर्देशन दिएको थियो । लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट जोगाउन बागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्था खोल्न भनी निर्देशन दिएको थियो । त्यसैगरी २०७६ चैत्र १६ गते सहकारी विभागले सम्पूर्ण सहकारी संघसंस्थाहरुलाई सदस्यहरुलाई सम्पूर्ण सेवा दिन निर्देशन जारी गरेको थियो ।

परिपत्र पछि १५ गते सोमबार उपत्यकका सहकारी अगुवाहरुले संयुक्त बैठक बसी अपिल जारी गरी प्रदेश सरकारले तोके बमोजिम सेवा दिन नसक्ने बताएका थिए ।

भिडियो कन्फ्रेन्समा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले एकदुई दिनभित्रै पासको हुने, त्यकालागि सम्वन्धित निकायसंग पहल गरिरहेको जानकारी दिए । उनले लकडाउनले बित्तिय जोखिम बढ्ने भन्दै एक हप्तामा २० हजार भन्दा बढी रकम फिर्ता गर्न सकिने स्थिति नरेहेको बताए । अध्यक्ष तामाङका अनुसार सोमबार उपत्यका भित्रका जिल्ला संघका पदाधिकारीको बैठकले सहकारीमा बित्तिय जोखिम आउन नदिन निक्षेप फिर्तामा कडाइ गरेको बताए । उनले उपत्यकामै धेरै संस्था, धेरै सदस्य र धेरै समस्या भएकोले त्यसलाई सम्बोधन गर्न अपिल जारी गरेको बताए । उनले उपत्यकामा एकरुपता कायम गर्न संयुक्त अपिल सार्वजनीक गरेको बताए । सहकारीका एकमुष्ठ समस्यामा सहकारी माहासंघले समन्वय गर्नेछ भन्ने पर्खाइमा बसेको भए भनी त्यो हुननसके पछि हामी जिल्ला संघहरुनै अघि बढेको र सहकारीले सेवा दिन पासको ब्यवस्था गर्न पनि लागि पर्ने बताए । उनले सम्वन्धित निकायसंग समन्वय गरेर सहजरुपमा सहकारीले सेवा दिने बाताबरण मिलाउने बताए । नेपाल सरकारले सहकारीलाई अत्याबश्यक सेवा भित्र पर्छ भनेर परिपत्र जारी गरिदिएको भए अझ सहज हुने र सरकारले सहकारीलाई छुट्याएर परिपत्र जारी गरेकोले सहकारीमा अन्यौलता छाएको उनको भनाइ थियो । सहकारी दोहारो चपेटामा परेकोले अन्यौलता छाएको उनको भनाइ छ । बर्तमान अवस्थालाई मात्र सम्बोधन गर्न नभएर लकडाउन पछि आउनसक्ने समस्यालाई पनि निराकरण गर्न लागेका छौं, तरलताको ब्यवस्थापनकालागि सहकारी महासंघ मार्फत नेपाल सरकार र वित्तिय कारोबार गर्ने सहकारी बैंक तथा केन्द्रिय संघहरुसंग संयुत्तरुपमा समन्वय गर्ने जानकारी दिए ।

जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले बन्दाबन्दी सुरु भएपछि सहकारीका अभिभावकहरुको प्रष्ट निर्देशन नआएकोले सहकारीमा अन्यौलता छाएकोले के गर्ने कसो गर्ने भएको बताए । सरकारको निर्देशनले सहकारीको सेवा अत्यावश्यक भित्र परोकी परेन भन्ने अन्यौलता भएको बताए । उनले अन्यौलताका विचमा पनि स्वबिवेकले सहकारीहरुले सेवा दिएको, सदस्यका घरघरमा पैशा पुर्याएको, सदस्यको खातामा पैशा नभए पनि ऋण दिएर गर्जो टार्ने, स्थानीय तहसंग समन्वय गरेर राहत सामाग्री वितरण गर्ने, कोरोना संक्रमणबाट बच्ने जनचेतना फैलाउने लगाएतका काम गरेको बताए । जिल्लाको भौगोलिक अवस्था अनुसारमा रहेका संस्थाले त्यहाँको आवश्यकता अनुसार सेवा दिइरहेको बताए । उनले सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएकोले पनि सहकारीहरुमा अन्यौलता भए पनि सदस्यप्रति इमान्दारी भएर उनीहरुलाई सेवा पुर्याइरहेको बताए । उनले भने गृह मन्त्रालयले कडी कडाउ गर्ने भनेको छ, सहकारी मन्त्रालय र विभागले अनिवार्य सेवा दिनु पर्छ भनेको छ, स्थानीय प्रशासनले समन्वय गरेको छैन भने सहकारीले कसरी सेवा दिने हो, पासको बेवस्था नभएसम्म सरकारले भने जस्तो सेवा दिन सहकारी असमर्थ छन् ।

भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खडकाले स्थानीय प्रशाशनले सहयोग नगरेको अवस्थामा पनि सहकारीहरुले कार्यालय खोलेर र नखोलेरै पनि सेवा दिने गरेको बताए । उनले सवै सहकारीहरुले सजगता अपनायर काम गर्न अनुरोध गरे । उनले भने बर्तमान अवस्था भन्दा भोलीको दिन असहज हुने भएकोले सजग रहन अनुरोध गरे । जिल्ला संघले वार्षिक २० लाखको मल बेच्ने गरेको र अहिले मल संघमा थन्किएकोले किसानकोमा मल पुर्याउन प्रशासनले मुस्किलले मात्र सहजीकरण गरेको बताए । उनले जिल्लामा सहकारीले दिएका सेवाहरको संघले डाटा संकलन गर्न थालेको पनि जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले सदस्यले सहकारीबाट वित्तिय सेवा मात्र लिने संस्थाका रुपमा नहेर्न आग्रह गरिन । उनले सदस्यहरुलाई सहकारीले दिएका अन्य सेवाको पनि गुण विर्सन नहुने बताइन् । सहकारीले गरेका घर दैलो सेवा, सामाजिक काम, राहत वितरण लगाएतका कामको मूल्याङकन गर्नु पर्ने उनको भनाइ छ । सहकारी संघहरुले सवै सहकारी संस्थाले गरेका कामहरुमा सहयोग गर्नु पर्ने बताइन् । उनले सहकारी संस्थामा समस्या आउन नदिन बैंकले भुमिका खेल्ने बताइन् । कोरोनाले सहकारीमा कस्तो खालको समस्या पर्छ भन्ने कुरा आँकलन गर्दै बित्तिय ब्यबस्थापनमा बैंक अग्रसर हुने बताइन् । सहकारीका संघमा आबद्ध नभएका संस्थाहरुलाई पनि समेटेर सहयोग गर्नु पर्ने उनको भनाई छ ।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले अहिले जसोतसो संस्था चलेपनी आगामी दिनमा सहकारी संचालन गर्न जटिल हुन सक्ने भएकोले त्यको पनि ब्यवस्थापन कसरी गर्ने भनेर सजगताकासाथ अघी बढन आग्रह गरे । उनले कास्कुन्ले विहान १० बजे देखि दिउँसो १ बजे सम्म सेवा दिइरहेको र प्रयाप्त तरलता रहेको पनि बताए । संघमा जोखिम ब्यवस्थापन कार्यदल गठन गरिसकेको र सदस्य संस्थाहरुको सर्वे गर्ने काम भइरहेको जानकारी दिए । संस्थाहरुले सहकारीका सवै निकायहरुको समन्वयमा तरलता ब्यवस्थापन गरी सदस्यहरुलाई भोकै राख्न नहुने र स्वास्थ्य उपचारमा कमी हुन दिननहुने काम सहकारी अभियानले गर्नु पर्ने बताए । आत्तिहाल्ने अवस्था नभएकोले सवैलाई संयमित रहन आग्रह गरेका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाइले उपत्यकाका सहकारी अभियानको संगुक्त विज्ञप्ती आउनु सकरात्मक पक्ष भएको बताए । उनले सहकारी अभियानमा बिना धितो अरबौंको लगानी भएका संस्था, समुहमा आधारित संस्था र बजारको लगानी उठाएर बजारमै लागानी गर्ने तीनखाले सहकारी भएको बताए । उनले सहकारी महासंघ, बैंक तथा अन्य विषयगत सघहरुलाई बाइपास नगरी अभियान हितकालागि सयुक्त विज्ञप्ती निकालेको बताए । उनले सहकारीमा देखिएको अन्यौलता अभियानले चिर्नुपर्ने बताए । राज्यले सहकारी अभियानलाई सफ्टलोन ब्यवस्था गरिदिनु पर्ने र यसकालागि सहकारी अभियान एकजुट हुनुपर्ने उनको भनाई छ । जिल्लाका सहकारीमा समस्या हुन नदिन तरलता ब्यवस्थापनकालागि कोषको निर्माण गर्ने विषयमा छलफल भएको बताए । उनले सदस्य संस्थाहरुको सर्वेक्षण गरीरहेको र आएका समस्या समाधान गर्न पहल गर्ने बताए । जिल्लामा सहकारी मार्फत कोरोना सम्क्रमण फैलन नदिन विभिन्न सामाजिक कार्य तथा राहत वितरणका साथै विभिन्न सामाजिक कार्य गरिरहेको जानकारी दिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले, जिल्लामा सहकारी मार्फत १० वटै स्थानीय तहमा राहत वितरण, प्रदेश सरकारलाई चारवटा विषयगत संघ मिलेर ३ लाख २ हजार राहत संकलन गरी हस्तान्तरण गरेको जानकारी दिइन् । उनले अरु वित्तिय संस्थाहरु संग प्रतिश्पर्धा गर्नु पर्ने अवस्था रहेकोले पनि प्रदेश सरकारको निर्देशन मानेर सवै सहकारीहरुले तोकीय बमोजिम सदस्यलाई सेवा दिएको बताइन् । उनले जिल्लाका सहकारीहरुले पनि सदस्यको आवश्यकता हेरेर सम्पर्क ब्यक्ती मार्फत सेवा दिएको बताइन् । नियमित संघको कार्यलय खोलेर सेवा दिइरहेको भएपनि पासको ब्यवस्था अलि सहज भएको बताइन् । उनले जिल्लाको थाहानगरमा उत्पादन भएको तरकारीहरु सहकारीको च्यानल मार्फत संकलन गरी विक्री वितरण गरिरहेको जानकारी दिइन् । भोलिका दिनमा जिल्लाका उत्पादनलाई उपत्यकामा सहकारीमार्फत पुर्याउनु पर्ने बिचार राखिन ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीहरुले नयाँ समस्या भोगीरहेको अवस्था हो लकडाउन । बन्दाबन्दीको सुरुका दिनमा अन्यौलता सिर्जना भएको बताए । बचत संघले सम्पर्क ब्यक्ती तोकेर सदस्यको घरघरमा अत्यावश्यक सामाग्री खरिदकालागि ५ हजार देखि २० हजारसम्म नगद पुर्याइदिन सूचना जारी गरेको जानकारी दिए ।

उनले कुनै बैंक वित्तिय संस्थाले नगरेको काम सहकारी विभागले स्थानीय निकायसंग समन्वय गरेर सम्पूर्ण कारोबार गर्नु भनेर सहकारीलाइ निर्देशन दिनु गलत भएको बताए । उनले स्थानीय प्रशासनले गृहले नभनेसम्म सहकारीलाई पासको ब्यवस्था नगर्ने र सहकारी विभागले सेवा दिनु भनेर भन्ने भएकाले सहकारीहरु अन्यौलमा रहेको बताए । उनले सहकारीहरुले स्थिरिकणकोषको ब्यवस्था गरेको भए अहिले अत्तालिनु पर्ने बताबरण नआउने बताए । सहकारीले बचत फिर्ताको सीमा तोक्नु र ऋण लगानी नगर्ने, बचत नगर्ने भन्ने विषय असान्दर्भिक भएको बताए । जिल्ला बचत संघले संस्थालाई आवश्यक परेको खण्डमा ४० लाख सम्म ऋण दिने ब्यवस्था गरेको जानकारी दिए । सहकारीहरु आत्तिनुपर्ने अवस्था नभएपनि तरलता ब्यवस्थापन गर्नु पर्ने बताए ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापा मगरले अहिलेको समस्या विश्वब्यापी समस्या भएकोले, यसको असर सवै क्षेत्रमा पर्ने भएकोले सहकारी क्षेत्रमा पनि असर देखिएको बताए । उनले समय समयमा सरोकारवालाहरुसंग सहकारीमा देखिनसक्ने समस्याका बारेमा छलफल हुने गरेको र यसलाई एकमुष्ठ सहकारी महासंघले सम्बोधन गर्नु पर्ने बताए । उपत्यकाका सहकारी अभियानले सम्बोधन गरेको अपिलले सहकारीका सदस्य तथा सहकारीहरुकालागि राहत भएको बताए । यसका अलवा थप सेवा दिन सहकारीले पास नपाएको अवस्था रहेकोले भोलीका दिनमा सहकारीमा आउने दिर्घकालिन समस्या समाधानकालागि पनि पहल गर्नु पर्ने बताए । छलफलमा नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रिय संघका उपाध्यक्ष पुरुशोत्तम मानन्धर, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष रामशरण घिमिरेलगाएतले बिचार राखेका थिए ।