• गृहपृष्ठ
  • चितवनका कोरोना सङ्क्रमित पुरुषलाई घर पठाइयो

चितवनका कोरोना सङ्क्रमित पुरुषलाई घर पठाइयो

Apr 26th, 2020

चितवन, १४ वैशाख (रासस)

कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि शनिबार घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ ।

¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उहाँसहित उहाँका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।

सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उहाँमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि शनिबार घर पठाइएको हो । घर पठाइएपछि पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

आमाको उपचार भइरहेकाले उहाँ अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमितले आफ््नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उहाँले बताउनुभयो ।

उहाँहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन आएका थिए । उनीहरुलाई वैशाख ३ गते ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।