• गृहपृष्ठ
  • सङ्क्रमित १४ वर्षीय किशोरलाई थप उपचारका लागि वीरगञ्ज पठाइयो

सङ्क्रमित १४ वर्षीय किशोरलाई थप उपचारका लागि वीरगञ्ज पठाइयो

Apr 24th, 2020

सर्लाही, १२ वैशाख (रासस)

सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ंज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताउनुभयो । किशोर बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्र्पकमा नगएको उहाँले जानकारी गराउनुभयो । गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताउनुभयो ।

गत शुक्रबार वैशाख ५ गते आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि लगिएको थियो । त्यहाँ किशोरमा कोरोना सङ्क्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो ।

ती किशोरलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो । टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको छ ।

लकडाउनको बेला ती किशोर गत चैत २३ गते भारतको राजधानी नयाँदिल्लीबाट रौतहटको गौर हुँदै धनकौल फर्केका थिए । सङ्क्रमित किशोर नयाँदिल्लीस्थित एक ब्याग फ्याक्ट्रीमा काम गर्दै आएका थिए । भारतबाट एक किशोर आएको सूचना पाएलगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर उनलाई राखेको थियो ।

थप एकजनामा पोजेटिभ

ईश्वरपुर नगरपालिकामा बिहीवार आरडिटी गर्दा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको छ । ईश्वरपुर–९ रामनगर निवासी ५८ वर्षीय एक पुरुषलाई आरडिटी विधिवाट कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सर्लाहीका प्रजिअ जिसीले जानकारी दिनुभयो ।

ती पुरुषको स्वाब पिसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । धेरैजसो आरडिटी पोजेटिभ देखिएको ‘केस’ मा पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने भएका कारण आरडिटी प्रभावकारी नरहेको देखिएको छ ।