नेफस्कुनद्धारा मार्गदर्शन २०७७ जारी

Apr 23rd, 2020

काठमाडौ, बैशाख ११

बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) मार्गदर्शक जारी गरेको छ । संघले बिश्वव्यापी महामारी (कोभिड १९) को अवस्थामा सहकारी संघ/संस्थाहरुमा जनशक्ति तथा सुशासन व्यवस्थापनको लागि मार्गदर्शन-२०७७ जारी गरेको हो ।

आम स्वास्थ्य संकटको अवस्थामा सहकारीहरुले साविकको जस्तो नियमित कार्यालय संचालन सम्भव नहुने भएकोले, मानवीय संकटको समयमा सदस्यलाई प्रदान गर्नुपर्ने अत्यावश्यक सेवाहरु नियमित र सुरक्षित तवरले उपलव्ध गराउन बचत तथा ऋण सहकारी संघ÷सस्थाको लागि नेफ्स्कूनले जारी गरेको महामारी कोभिड १९ मा सहकारी सेवा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७६ मा उल्लेख गरिएको जनशक्ति परिचालन सम्बन्धि व्यवस्थालाई थप सरलीकृत गर्न यो सहकारी संघ/सस्थाहरुमा जनशक्ति तथा सुशासन व्यवस्थापन मार्गदर्शन-२०७७ जारी गरिएको हो ।

चालु आ. ब. २०७६।०७७ को अन्तिम चौमासिकमा बन्दाबन्दीको सामना गर्नु परेकोले संस्थाको वित्तिय अवस्था योजना अनुसार नभएको हुन सक्दछ वा हाल सदस्य हितमा गरिने कार्यक्रमहरुको आकार बढ्न गई संस्थागत आयको मात्रामा कमी भएको भए पनि बन्दाबन्दी अवधि भर संघ संस्थाको क्षमता, महामारीको चरण र अवधिको विश्लेषण गरी मौजुदा दरवन्दी यथासक्य कटौती नगर्ने मार्गदर्शनमा उल्लेख छ । महामारीको अबधि विदाको अबधि होइन, त्यसैले यस अबधिमा संस्थागत निर्णय बमोजिम कार्यसम्पादन गर्नु पर्दछ । महामारी अवधिमा परिचालन गर्नुपर्ने जनशक्ति व्यवस्थापनका योजना व्यवस्थापकले तयार गरी नीतिगत रुपमा जोखिम व्यवस्थापन कार्यदलबाट निणर्य गराई स्थानीय प्रशासन सँगको समन्वयमा संघ वा संस्थाको सेवालाई निरन्तरता प्रदान गर्ने व्यवस्था गर्नुुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

बन्दाबन्दी अवधिमा निश्चित जिम्मेवारी सहित कार्यसम्पादान गर्नु नपरेका कर्मचारीहरुको हकमा बन्दाबन्दी अवधिमा बिदा सञ्चित नहुने व्यवस्था गर्ने, महामारीको समयमा काम गर्ने जनशक्तिहरुको लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा (पीपीई, स्यानिटाइजर, मास्क, चश्मा, सुरक्षित कार्यस्थल) को प्रबन्ध भएको हुनु पर्दछ र बैकल्पिक बिधिवाट सेवा दिंदा सुरक्षालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाउने व्यवस्था कार्यान्वयनमा पनि संघले माग गरेको छ ।

महामारीको समयमा कार्यालयले तोकेको कार्य, क्षेत्र, समय र साधन बाहेकको यात्रा प्रतिबन्ध गर्ने , जनशक्ति परिचालन योजना अनुरुप संस्थागत कार्यमा खटिएका व्यक्तिहरुको नियमित रुपमा स्वास्थ्य अवस्था बारे जानकारी लिने व्यवस्था मिलाउने, संस्थाको क्षमता तथा वित्तिय अवश्थाको आधारमा महामारीको समयमा कार्य स्थलमा नियमित खटिने कर्मचारीहरुको थप विमा, प्रोत्साहन भत्ता, यातायात साधन, आवागमन अनुमति प्रबन्ध आवश्यक संचार खर्च जस्ता न्यूनतम व्यवस्था संस्थागतरुपमा गर्ने समेतको व्यवस्था मिलाउनुु पर्ने मार्गदर्शनमा उल्लेख छ।

गर्भवती महिला, नियमित औषधि सेवन गरिरहेका जनशक्तिहरुलाई महामारीको समयमा परिचालन नगर्ने, नियमित काममा रहेको समयमा कर्मचारीहरुमा स्वास्थ्य समस्या देखिएमा सो समस्या समाधान गर्दा भएको खर्च संस्थाले व्यवस्था गर्ने, बन्दाबन्दीको अवधि लम्बिन गई संस्थाको खुद बचत ऋणात्मक भएमा, कर्मचारीहरुको आधारभूत तलवमान (तलव स्केल र ग्रेड) बाहेक अन्य सुविधाहरु पूनरावलोकन गर्ने, महामारीको अवस्था, सरकारको निर्देशन, स्थानीय तह र प्रशासनले जारी गरेका निर्देशनहरु, सहकारी सञ्जालको मार्गनिर्देशन नियमित अध्ययन र विश्लेषण गरि आवश्यक समन्वयमा सेवा प्रवाहका विधि तय गर्ने व्यवस्था मिलाउने पनि सुझावमा उल्लेख छ । महामारीको अन्त्य भई जनजीवन सामान्य अवस्थामा आई संघ सस्था पूर्ववतः सञ्चालन नहुँदा सम्म नयाँ कर्मचारीहरुको नियुक्ति सम्बन्धी प्रक्रिया स्थगन वा रद्ध गर्ने सुझाव पनि मार्गदर्शनमा उल्लेख छ ।

सदस्य संघ संस्थाले संचालन गरेको कुनै सेवा तत्काल संचालन गर्न नसकिने वा गर्नु नपर्ने भएको अवस्थामा श्रम ऐन २०७४ को दफा १५ बमोजिम जनशक्ति व्यवस्थापन गर्न सकिनेछ । यसमा, कुनै विशेष परिस्थिति उत्पन्न भएमा रोजगारदाता (संघ संस्था) ले कार्य स्थगन गरी जनशक्तिलाई जगेडामा राख्न सकिने व्यवस्था रहेको छ जसमा, दश जना वा सोभन्दा बढी जनशक्ति कार्यरत रहेको रोजगारदाता (संघसंस्था) ले श्रमिक जगेडामा रहेको अवस्थामा त्यस्तो जनशक्ति र संघसंस्थाबीच रोजगार सम्बन्ध कायमै रहनेछ र जनशक्तिलाई पन्ध्र दिनसम्म जगेडामा राख्न सक्नेछ तर सोभन्दा बढी समयको लागि जगेडामा राख्नु परेमा आन्तरीक कार्यविधिमा व्यवस्था गरी लागू गर्ने, यस मार्गनिर्देशनमा उल्लेख गरिएको प्रावधानहरुलाई सदस्य संघ संस्थाले विकास गरेको मानव संशाधन व्यवस्थापन नीतिमा महामारीमा जनशक्ति व्यवस्थापन सम्बन्धी परिच्छेद थप गरी अद्याबधिक गर्ने व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ । महामारी अवधिमा सम्पादन भएका सम्पूर्ण कार्यहरुको नीतिगत निर्णय र स्तरीय अभिलेखीकरण गर्ने, महामारीको समयमा संस्थाको दैनिक क्रियाकलापलाई नियमित गर्न मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरु कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा अख्तियारी प्रत्यायोजन गर्ने, सम्पर्कको आधारमा सेवा दिने कर्मचारी सेवा दिन निर्धारण गरिएको समय र स्थानमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउने सुझाव पनि संघले दिएको छ ।