• गृहपृष्ठ
  • मन्त्री नेम्वाङद्वारा गृहजिल्लामा स्वास्थ्य सुरक्षा उपकरणको प्रबन्ध

मन्त्री नेम्वाङद्वारा गृहजिल्लामा स्वास्थ्य सुरक्षा उपकरणको प्रबन्ध

Apr 20th, 2020

फिदिम, ८ वैशाख (रासस)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गृहजिल्ला पाँचथरमा अत्यावश्यक स्वास्थ्य सुरक्षा उपकरणको प्रबन्ध गर्नुभएको छ । मन्त्री नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरको समन्वयमा कोभिड–१९ को सतर्कता, परीक्षण र उपचारमा आवश्यक पर्ने सामग्रीको व्यवस्था मिलाउनुभएको हो । उहाँका पहलमा २७ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), ३३ थान थर्मल गन, ३४ हजार थान सर्जिकल मास्क र ११० थान सेनिटाइजर जिल्लामा उपलब्ध भएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।

सबै सामग्री मन्त्री नेम्वाङले व्यक्तिगत पहल तथा लागतमा जिल्लामा पठाउनुभएको हो । स्वास्थ्य सुरक्षा सामग्री आजैदेखि स्वास्थ्य संस्था र स्थानीय तहलाई वितरण गर्न थालिएको अध्यक्ष भण्डारीले वताउनुभयो ।

पाँचथरमा थर्मलगनको अभाव थियो । सीमित थर्मलगन हुँदा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीको तापक्रम लिनसमेत एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्ने अवस्था थियो । अब थर्मलगन अपुग भएका स्थानमा पु¥याउने प्रबन्ध मिलाइने अध्यक्ष भण्डारीले वताउनुभयो ।

पिपिई जिल्ला अस्पतालसहित जिल्लास्थित दुई निजी अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग गरिने भएको छ । केही थान भने स्वास्थ्य कार्यालयले मौज्दातमा राखेको छ । ठूलो संख्यामा प्राप्त भएका मास्क वडास्तरमा वडा कार्यालय र नेकपा कमिटीले कमजोर आर्थिक अवस्थाका परिवारलाई वितरण गर्ने नेकपा अध्यक्ष भण्डारीले बताउनुभयो । स्वास्थ्य सामग्रीको उपलब्धताले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा रहेका बिरामीको मनोबलमा वृद्धि हुने नेकपाको अपेक्षा छ ।