• गृहपृष्ठ
  • एसइई परीक्षार्थीलाई अनलाइन कक्षा सञ्चालन

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा सञ्चालन

Apr 11th, 2020

खस्यौली, २९ चैत(रासस)

बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।

विषयविज्ञ शिक्षकले हरेक दिन अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना माविबाट शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत पढाउने शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।

विद्यार्थीले आआफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा नगरपालिकाको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तरसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले कोरोना महामारीका समयमा सूचनाप्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पु¥याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताउनुभयो । अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि केही हदसम्म कक्षा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ आइडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ र छ ।

तिलोत्तमाका ५१ सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै दुई हजार सात सय विद्यार्थी एसइईको तयारीमा छन् । कोरोनाको कारण एसइई शुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगन गरेको थियो ।