रित्तिँदै शहर, व्यवसाय चौपट

Mar 20th, 2020

– वासुदेव पौडेल
पोखरा, ७ चैत (रासस)

एक साताअघिसम्म दिनको लगभग रु १५ हजारसम्मको व्यापार गरेका नयाँबजारस्थित पारस रेस्टुराँ सञ्चालक गुरुदत्त पौडेल अहिले भने दिनको चार हजारसम्मको व्यापार गर्न पनि धौधौ भएको बताउनुहुन्छ ।

केही दिनयता क्रमशः व्यापार घटिरहेको उल्लेख गर्दैै उहाँले आफ्ना जस्ता धेरै होटेल तथा रेस्टुराँमा यतिखेर दिनानुदिन ग्राहक घट्दै गएको बताउनुभयो । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि शहरमा विभिन्न सेवा, पेशा र व्यवसाय गर्दै आएका गाउँ फर्कन थालेपछि बजार सुनसान बन्दै गएको उहाँले बताउनुभयो ।

सरकारले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजगर गर्दै विद्यालयमा चैत ४ गतेभित्र परीक्षा सक्न दिएको निर्देशनसँगै शैक्षिक संस्था बुधबारदेखि बन्द भएका छन् । विद्यालय बन्द भएसँगै बालबच्चा पढाउनकै लागि डेरा गरी बसेका अभिभावक बालबच्चासहित घर फर्कन थालेका कारण पनि बजार सुनसान बन्दै गएको हो ।

गाउँतर्फ जाने सार्वजनिक सवारी साधनमा यात्रु देखिने गरे पनि पोखरा नगरमा गुड्ने सवारी साधन भने अत्यन्त कम यात्रु लिएर गुडिरहेका देखिन्छन् । यात्रुकै अभावमा कमाइ नभएपछि यसको प्रत्यक्ष प्रभाव अटोसम्बद्ध व्यापार व्यवसायमा देखिएको छ । नयाँबजारमा अटो पेन्ट्सको व्यापार गर्दै आएका विष्णु कलर ट्रेडर्सका सञ्चालक विष्णु कोइराला ग्यारेज लाइनमा नै काम नभए पछि आफूहरूको व्यापार प्रभावित भएको बताउनुहुन्छ ।

बाहिरबाट समान आउन अहिलेसम्म खासै समस्या नरहे पनि व्यापार नै नहुँदा व्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो । “कोरोनाकै कारण बजार ठप्प जस्तै बनेको छ, कमाइ नै नभएपछि अटो कलरको काममा आउने ग्राहक रोकिएका छन्”, उहाँले भन्नुभयो, “सरकारले २० वर्ष समयावधि पुगेका सवारी साधन विस्थापन गर्ने नीति लिएका कारण पनि अटो क्षेत्रको व्यापार व्यवसाय केही समययता थप प्रभावित बनेको छ ।”

विगतमा यस याममा निकै चहलपहल हुने पोखराका प्रमुख पर्यटकीय गन्तव्य पर्यटकविहीन छन् भने व्यापारिक मलदेखि किराना पसलसम्मको व्यापार सुस्ताएको छ । एक हप्तायता किराना पसलको व्यापार दिनानुदिन कम हुँदै गएको सुमन किराना स्टोर्सका सञ्चालक डोलराज तिवारीले बताउनुभयो ।

विगतका तुलनामा झण्डै ५० प्रतिशतसम्म व्यापार घटेको जानकारी दिँदै उहाँले सामान किन्न आउने ग्राहकमा कोरोनाका कारण सिर्जित मनोवैज्ञानिक त्रास देखिएको पाइएको बताउनुभयो । “मनोवैज्ञानिक त्राससँगै ग्राहकले दैनिक उपभोग्य सामानमध्ये विशेषगरी खाना पकाउने ग्यास, दाल, चामल, चिनी, नून जस्ता चिजबिज आवश्यकताभन्दा बढी किनेर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “अघिल्लो हप्तासम्म मागअनुसारको सामान सहजरूपमा नै आपूर्ति हुने गरेकामा पछिल्ला दिनमा भने उक्त क्रममा केही कमी आएको छ ।”

उपभोग्य समान नियमित आपूर्ति भए पनि बढ्दो मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी सामान खरिद गरेर राखिदिने क्रमले मागअनुसारको आपूर्तिमा असहज भएको सरोकारवाला बताउँछन् ।

पछिल्ला दिनमा पोखरामा खाना पकाउने ग्यासको अभाव देखिएको गुुनासो आए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरेर घरमा राखिदिनाले समस्या भएकोे शक्ति ग्यास प्राली पोखरा–३२ गगनगौँडाका कार्यालय प्रमुख मेघराज पौडेलले जानकारी दिनुभयो ।

“बजारमा मागअनुसारको ग्यास आपूर्ति भइरहेकै छ, उपभोक्ता स्वयंले आवश्यकताभन्दा बढी खरिद गरेर राखिदिँदा समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “होटेल तथा रेस्टुराँमा विगतमा जस्तो ग्यासको खपत कम भइरहेको अवस्थामा समेत उपभोक्ताले हतास मनस्थितिका कारण एउटै घरमा चार÷पाँच वटासम्म ग्यास भरेर राखेका छन् ।”

कम्पनीले पोखरा आसपासमा विगतमा दैनिक दुई हजार २०० देखि दुई हजार ५०० सिलिन्डर ग्यास बजारमा पु¥याइरहेकामा अहिले तीन हजारदेखि तीन हजार ५०० सिलिन्डर वितरण गरिरहेका कारण ग्यासको अभाव हुनुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । घरमा ग्यास अनावश्यक भण्डारण गरी राखिनु आफ्नै लागि जोखिम भएको हुँदा त्यसतर्फ समेत सचेत बन्न पौडेलको आग्रह छ ।