• गृहपृष्ठ
  • बचतपत्रको ब्याज मुद्दति निक्षेपकै हाराहारी, ब्याजदर बढाउन छैन चासो

बचतपत्रको ब्याज मुद्दति निक्षेपकै हाराहारी, ब्याजदर बढाउन छैन चासो

Mar 20th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, चैत ७

अहिले बैंकहरुले मुद्दति निक्षेपमा ९ दशमलव २५ प्रतिशत ब्याज दिइरहेका छन् । यता सरकारले जारी गर्ने बैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत । यसरी मुद्दति निक्षेपको भन्दा ब्याज फरक नभएका कारण सरकारले ल्याएको यो वित्तीय औजार फेल भएको छ ।

राष्ट्र बैंकले माघमा २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रिमा ल्याएको थियो । जसमा जम्मा १९ लाख रुपैयाँको मात्र बिक्रि भयो । फागुनमा फेरि ४० करोडको बचतपत्र बिक्रिमा ल्याएकामा त्यसमा पनि आकर्षण देखिएको छैन । यी दुई बचतपत्रमध्ये अहिलेसम्म ४२ लाखको मात्र बिक्रि भएको छ । यो कुल बचतपत्रको जम्मा शुन्य दशमलव सात प्रतिशत हो ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी बचतपत्र बिक्रि गर्न थालेको नौ वर्ष भयो । तर यो ९ वर्षमा बचत पत्रको बिक्रिमा कुनै सुधार आएको छैन । अर्थात वैदेशिक रोजगारीमा गएका नेपालीले बचतपत्रमा पटक्कै रुचि देखाएका छैनन् ।

निष्कासन सुरु गरेको पहिलो तीन वर्ष पनि बचतपत्रको बिक्रि १ प्रतिशत माथि गएको थिएन । अवस्था अहिले पनि उहि छ ।

बचतपत्रमा लगानी गरेवापत १० प्रतिशत ब्याज ६÷६ महिनामा पाइन्छ । स्वयं राष्ट्र बैंकका अधिकारीहरु पनि यसको ब्याजदर नयुन भएको स्वकार्छन् । तर , धेरै ब्याज दिनका लागि न गभर्नर नत अर्थमन्त्रीले नै आट गरेका छन् ।

साथै प्रचारप्रसारमा ध्यानै नदिएकाले पनि यसको बिक्री हुन नसकेको हो ।

बचतपत्रमा आकर्षण बढाउन परियोजनामा लगानी गरी बोनस दिने व्यवस्था गर्नुपर्ने हो । सुरुवातमा यसको व्यवस्था पनि त्यसकै लागि गरिएको हो । तर सरकारले बचतपत्रलाई आयोवजना संक लिंक गर्न सकेको छैन । जसका कारण बिकास निर्माणका लागि आवश्यक पर्ने पुँजी जुट्न सकेको छैन ।

वैदेशिक रोजगारीका लागि खासगरी मलेसिया र खाडी मुलुक गएका नेपालीले पहिलो वर्षको कमाइ विदेश जाँदा लिएको ऋण तिर्न र त्यसपछि घराशयी सामान किन्न तथा छोराछोरीको शिक्षामा खर्च गर्छन् । राष्ट्र बैंककै अध्ययन अनुसार विदेशमा काम गर्न गएका नेपालीले पठाएको विप्रेषणको ७९ प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको छ । बचेको रकम धेरैले घरघडेरी किन्नमा खर्च गरिरहेका छन् । बचतपत्रमा उनीहरुको आकर्षण देखिएको छैन ।