• गृहपृष्ठ
  • कोभिड–१९ को जोखिमको कारण अधिवेशन अन्त्य

कोभिड–१९ को जोखिमको कारण अधिवेशन अन्त्य

Mar 19th, 2020

हेटौँडा, ६ चैत (रासस)

वाग्मती प्रदेशकोे प्रदेशसभाको ५औँ अधिवेशन आजबाट अन्त्य भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएकोे हो ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाउनुभएको पत्र पढेर हिँउँदे अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । यस अधिवेशन अवधिभर प्रदेशसभाले २५ वटा बैठक बसेर ७ वटा विधेयक एक अध्यादेश पारित गरेको सभामुख श्रेष्ठले बताउनुभयो । २०७६ पुस–१ गतेदेखि शुरु भएको थियो ।

अन्तिम दिन दुई विधेयक पारित

हिउँदे अधिवेशनको अन्तिम बैठकबाट आज दुईवटा विधेयक पारित भएका छन् । आज बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो ।

स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ लाई आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले टेबल गर्नुभएको थियो । यस विधेयकको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद रमेश पौडेलले नेकपाले संविधानमा नै संशोधन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सांसद नरोत्तम बैद्यले अब पनि अदालतले खारेज गर्नेगरी विधेयक बनाउन नहुनेमा जोड दिनुभयो । जवाफमा मन्त्री जम्मकट्टेलले सर्वोच्चको आदेशलाई सम्मान गर्दै विधेयक ल्याएको जानकारी दिनुभयो । त्यसैगरी प्रदेश युवा परिषद् गठन गर्ने व्यवस्थागर्न बनेको विधेयक, २०७६ सामाजिक विकासमन्त्री युवराज दुलालले टेबल गर्नुभएको थियो । यस विधेयकको छलफलमा सांसद सरेस नेपाल, रीना गुरुङ, रमेश पौडेल, माधव पौडेल, वीराजभक्त श्रेष्ठ र नरोत्तम बैद्यले भाग लिनुभएको थियो ।