• गृहपृष्ठ
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न

Mar 19th, 2020

काठमाडौ, चैत ६

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । ध्रुब बहादुर प्रधान तथा भाष्कर भद्राको संयुक्त अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले कोरोना भाइरस प्रकोपको संभावित खतराबाट आम जनसमुदायलाई बचाउन र जोगाउन नेपाल सरकारले गरेको पछिल्लो निर्णयलाई राप्रपा सकारात्मकरुपमा लिई स्वागत गरेको छ ।

कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिइ रहेको खतरापूर्ण अवस्थालाई ध्यानमा राख्तै आम जनसमुदायलाई संभावित खतराबाट जोगिनका निम्ति सचेत गराउन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टीका स्थानीय तहसम्मका समिति र संगठनहरुलाई सचेतनाका लागि अपनाउनु पर्ने तौर तरिका र उपाय समेत उल्लेख गरी अविलम्ब सूचना सम्प्रेषण गर्ने निर्णय समेत गरेको छ । यो अन्यौलपूर्ण परिस्थितिको नाजायज फाइदा उठाउँदै बजारमा महंगी, कालोबजारी मूल्यबृद्धि र कृत्रिम अभाव सिर्जना भएकोमा यसको निराकरणका लागि राप्रपा सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै त्यस समस्याबाट आगामी दिनमा आइ पर्ने सम्पूर्ण संकटहरुको चुस्त व्यवस्थापन गर्नको निम्ति सरकार तयारी रहन आग्रह राप्रपाले आग्रह गरेको छ ।

राप्रपाले परिस्थितिका गाम्भिर्यतालाई दृष्टिगत गरेर देशमा संकटकालिन आर्थिक कोष को व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको कहरबाट प्रभावित न्यून आयका ज्याला र मजदुरीको भरमा जीवनयापन गर्ने वर्ग र समुदायको प्रकोप अवधिभरको जिविकाको लागि गाँस, बाँस र औषधिको व्यवस्था गर्न राप्रपा सरकार समक्ष प्रस्ताव गरेको छ ।

बैठकले कोरोनाको विश्वव्यापी कहरबाट आयात निर्यात, औद्योगिक उत्पादन र वितरणमा प्रतिकूल असर उत्पन्न भई उद्योगपति, व्यापारी र लगानीकर्ताको आर्थिक अवस्था विग्रिदै गएको यथार्थलाई दृष्टिगत गरेर सरकारले उद्योगी, व्यापारी र लगानी कर्तालाई राहत दिन विशेष आर्थिक कार्यक्रम ल्याउनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको माग गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण पार्टीका ठूला सभा समारोह र २५ जना भन्दा माथिको भेला हुने सम्पूर्ण कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ भने केन्द्रमा पार्टी एकता पश्चात जिल्ला र स्थानिय तहको समायोजनको प्रक्रिया चैत्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ ।