बन्दीपुर अस्पतालमा आइसोलेसन कक्ष

Mar 19th, 2020

दमौली, ६ चैत (रासस)

कोभिड – १९ का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ । अस्पतालमा आठ श्ययाको सो कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । सो कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

“गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो । कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको उहाँ जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका–५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । आइसोलेसन कक्षलाई २० श्ययासम्म पु¥याउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

व्यावसायिक करमा पचास प्रतिशत छुट

कोरोनाको प्रभावले व्यवसायमा असर परेको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

वित्तीय सङ्घसंस्थालाई व्याजदर कम गर्न तथा घरधनीलाई घरभाडा शुल्कमा सहुलियत गर्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “कोरोना भाइरसको कारण सबै किसिमका व्यवसायमा समस्या भएपछि व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको हो”, उहाँले भन्नुभयो ।

जबर्जस्ती करणी अभियोगमा एघार वर्ष कैद

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतलले एक अभियुक्तलाई एघार वर्ष कैद फैसला सुनाएको छ । ऋषिङ गाउँपालिका–१ कोइदिम बस्ने १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा व्यास नगरपालिका–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई अदालतले एघार वर्ष कैद फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले अभियुक्तलाई कैद फैसला सुनाएको जिल्ला श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । अदालतले पीडित बालिकालाई रु पचास हजार क्षतिपूर्ति दिने फैसलासमेत गरेको छ ।

गत जेठ २६ गते ती युवतीलाई ललाइफकाइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पन्थलाई पक्राउ गरेको थियो । पीडित पक्षबाट जाहेरी दरखास्त परेपछि प्रहरीले पन्थविरुद्ध जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतमा असार १६ गते मुद्दा दायर गरेको थियो ।