• गृहपृष्ठ
  • महंगी बढ्यो , रेमिट्यान्स फेरी घट्न थाल्यो

महंगी बढ्यो , रेमिट्यान्स फेरी घट्न थाल्यो

Mar 19th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, चैत ६

गत वर्षको तुलनामा बजारमा महंगी बढेको देखिएको छ । जबकी राष्ट्र बैकले यो वर्ष महंगीलाई ६ प्रतिशतको सिमामा राख्ने भनेपनि गत २०७६ माघमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८७ प्रतिशत रहेको देखिएको छ । यस्तो महंगी अघिल्लो वर्षको सोही महिनामा ४ दशमलव ३५ प्रतिशत रहेको थियो ।

पछिल्लो समय बैदेशिक रोजगारीमा गएका युवा मार्फत आउने रेमिट्यान्स पनि माघमा केहि घटेको छ । जुन पुस महिनामा केहि बढेको देखिएको थियो ।

गत कात्तिकसम्ममा दुई दशमलव तीन प्रतिशतले घटेको रेमिट्यान्स मंसिर देखि विस्तारै बढ्न सुरु गरेको थियो ।

घट्दो प्रवृतिमा रहेको रेमिट्यान्स यो वर्षको मंसिर र पुसमा केहि उकालो लाग्ने संकेत देखायो । मंसिरमा शुन्य दशमलव १ प्रतिशतले बढेको रेमिट्यान्स पुसमा शुन्य दशमलव ९ प्रतिशतले बढेको थियो । तर माघ महिनामा भने रेमिट्यान्स गत वर्षको तुलनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको छ ।

साथै सोधानान्तर बचत पनि घट्दै गएको छ । पुस महिनामा २६ अर्बले बचतमा रहेको सोधानान्तर स्थिती अहिले घटेर २१ अर्ब ६१ करोडमा सिमित भएको छ । निर्यातको तुलनामा आयातको बृद्धि खासै नहुँदा पनि रेमिट्यान्सको संकुचनका कारण सोधानान्तर स्थिती घट्दै गएको हो ।

विदेशी मुद्रा सञ्चीति भने ८ महिना बस्तु तथा सेवा आयात मिल्ने गरि १० खर्ब ९६ अर्ब रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा अहिले ८.९ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ प्रतिशतले बढेको थियो ।

कर्जा विस्तारमा केहि सुस्तता आएकाले बैंकहरुले विस्तारै ऋणको ब्याज भने घटाउन थालेका छन् ।जसका कारण बैंकहरुले ऋण प्रवाहमा लिने ब्याज भने गत वर्षको तुलनामा यो वर्षको सोहि अवधिमा केहि घटेको देखिन्छ ।

यो वर्षको माघ महिनासम्ममा ऋणको औसत ब्याज ११ दशमलव ९४ प्रतिशत छ । जुन अघिल्लो वर्षको माघ महिनामा १२ दशमलव ३४ प्रतिशत थियो ।